बीमालेकाहरू दावी चापमै सक्रिय, पुनर्स्थापनामा गती
काठमाडाैं, ३ मंसिर । जेनजी आन्दोलन र अविरल वर्षाका कारण सिर्जित विशाल क्षतिले निर्जीवन बीमा कम्पनीहरूलाई अभूतपूर्व दावी चापमा पारेको छ। तर दाबी भुक्तानी प्रक्रिया तीव्र गतिमा अघि बढ्दै जाँदा बीमा क्षेत्र पुनर्स्थापनातिर सक्रिय देखिन थालेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ २३–२४ को जेनजी आन्दोलनका क्षतिबापत मात्रै २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी दाबी दर्ता भएको छ। असोज १८ गतेको बाढी–पहिरोबाट भएको क्षतिबापत थप ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको दाबी परेका छन्।
हालसम्म कम्पनीहरूले आन्दोलनतर्फका दाबीमध्ये ३ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन्। तर बाढी–पहिरो सम्बन्धी दावीहरूको भुक्तानी प्रक्रिया अझै अघि बढिरहेको छ।
उच्च दाबी चापका कारण अधिकांश निर्जीवन बीमा कम्पनीहरू घाटामा गए पनि केही कम्पनीहरू सकारात्मक वित्तीय स्थिति कायम राख्न सफल भएका छन्। पहिलो त्रैमासमा प्रभू इन्स्योरेन्सले ६ करोड ३१ लाख र नेशनल इन्स्योरेन्सले ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन्।
दुवै कम्पनीमा अन्य बीमालेकाहरूको तुलनामा दाबी चाप न्यून देखिएको छ—प्रभूमा करिब ३१ करोड र नेशनलमा करिब ३९ करोड बराबरको दाबी परेको छ।
विपरीत रुपमा, सिद्धार्थ प्रिमियर, ओरियण्टल, सगरमाथा–लुम्बिनी (सालिको), आइजी प्रुडेन्सियल, सानिमा जीआईसी, शिखर, युनाइटेड अजोड, हिमालयन एभरेष्ट, एनएलजीलगायत कम्पनीहरू ठूलो दावी भारका कारण ८ देखि ३० करोड रुपैयाँसम्म घाटामा पुगेका छन्।
सबैभन्दा ठूलो दावी दायित्व सिद्धार्थ प्रिमियरमा ६ अर्बभन्दा बढी रहेको छ भने ओरियण्टलमा ५ अर्ब ६५ करोड, शिखर र आईजी प्रुडेन्सियलमा ३–३ अर्बको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ।



