Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार ५०% पार, काम तिब्र

सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार ५०% पार, काम तिब्र

काठमाडाैं, ७ मंसिर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको ६ लेन सडक विस्तार परियोजनाको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। अरनिको राजमार्गअन्तर्गत १५.८ किलोमिटर लामो खण्डलाई दुई प्याकेजमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको हो।

पहिलो प्याकेजमा पर्ने सूर्यविनायक–साँगा ८.३ किलोमिटर खण्डको निर्माण प्रगति ४५ प्रतिशत पुगेको छ भने दोस्रो प्याकेजअन्तर्गत साँगा–धुलिखेल ७.५ किलोमिटर खण्डको प्रगति ५५ प्रतिशत छ। दुवै खण्डमा हाल निर्माण कार्य तीव्र रूपमा जारी छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार सो सडक विस्तारको स्थल निरीक्षण गर्दै निर्माण व्यवसायी, आयोजना प्रमुख तथा सडक विभागका अधिकारीहरूसँग प्रगतिबारे बिस्तृत जानकारी लिएका छन्। उनले अहिले मनसुनबाहेकको उपयुक्त मौसम भएकाले निर्माणलाई झनै तिब्रता दिन निर्देशन दिएका छन्।

मन्त्री घिसिङले जनशक्ति तथा उपकरण थप परिचालन गर्न, आयोजनामा बाँकी निर्णयहरू तुरुन्त टुंगो लगाउन र आगामी असारभित्रै सडक विस्तार सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरे। अर्थ मन्त्रालयले बजेट प्रतिबद्धता जनाइसकेको भन्दै अब निर्माणमा बजेट अभाव नपर्ने उनले बताए।

सडक सीमा विवाद, घर–टहरा हटाउने कठिनाइ र बजेट अभावले परियोजना प्रभावित हुँदै आएको थियो। चालु आर्थिक वर्षमा आयोजनाका लागि ७० करोड रुपैयाँ विनियोजन गरिएको छ भने आयोजना व्यवस्थापन पक्षले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको जनाएको छ।

बनेपा बजार क्षेत्रमा देखिएको समस्या समाधानका लागि मन्त्रीले बनेपा नगरपालिकासँग सहकार्य गर्न आग्रह गरेका छन्।
दुवै प्याकेजअन्तर्गत टेवा पर्खाल तथा नाली निर्माण कार्य ९५ प्रतिशत पूरा भएको छ भने साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर सडकमा कालोपत्रे कार्य सम्पन्न भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *