गरिमा रोड रेस २०८२ सम्पन्न, स्वास्थ्य र उत्साहको पर्व
काठमाडाैं, ७ मंसिर । “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा मंसिर ६ गते शनिबार गरिमा रोड रेस २०८२ सफलतापूर्वक सम्पन्न गरेको छ।
१८औं वार्षिकोत्सवबाट सुरु गरिएको रोड रेसको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी कुल ६ प्रतियोगिता आयोजना गरिएको थियो। खुला तर्फ १० कि.मी., कर्पोरेट तथा भेट्रान तर्फ ५ कि.मी. दुरी तय गरिएको थियो।
खुला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता बालुवाटारस्थित विकास बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएर नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ कार्यालय अगाडि पुगेर पुनः बालुवाटारमा समापन भएको थियो। कर्पोरेट र भेट्रान तर्फको ५ कि.मी. दौड पनि उस्तै मार्ग तय गरिएको थियो।
प्रतियोगितामा १,००० भन्दा बढी धावकको सहभागिता रहेको थियो। खुला विधामा महिला तर्फ १० कि.मी. दूरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धावक सन्तोषी श्रेष्ठ प्रथम भए भने पुरुष तर्फ १० कि.मी. दूरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नेपाल आर्मीका राजन रोकायाले पहिलो स्थान हासिल गरे। पुरुष खुला तर्फ नेपाल आर्मीका धावकहरूले सबै पुरस्कार जितेका छन् भने महिला खुला तर्फ चार पुरस्कार जित्न सफल भए।
पुरस्कार स्वरूप खुला तर्फ प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः रू. ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो। कर्पोरेट र भेट्रान तर्फ प्रथमदेखि पाँचौ स्थानसम्मका धावकले क्रमशः रू. ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्राप्त गरे।
कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघसंस्था एवं निकायका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, पत्रकार र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य प्रस्तुत गरे।
समापन समारोहमा अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै आगामी वर्षमा यस प्रकारका कार्यक्रम निरन्तर आयोजना गरिने बताए।
यसैगरी, मंसिर ७ गते आईतबार विकास बैंकले १९औं वार्षिकोत्सवको अवसरमा देशभरका ८ स्थानमा बृहत् रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू आयोजना गरेको छ।



