सार्वजनिक ऋणकाे दायित्व सवा २७ खर्ब पुग्याे, ४ महिनामै लिइयो १ खर्ब ३८ अर्ब
काठमाडौं, १० मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मा सरकारले १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।
सोही अवधिमा विनिमय दरमा आएको उतारचढावका कारण ४४ अर्ब २२ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण दायित्व थपिएको छ ।
सोही अवधिमा सरकारले १ खर्ब २७ अर्ब ६१ करोड बराबर ऋण भुक्तानी गरेको छ । जसले गर्दा पहिलो चौमासिकमा सार्वजनिक ऋण वृद्धि ५५ अर्ब ३६ करोड बराबर भएको छ ।
गत आव अन्तिम (असार मसान्त) सम्म २६ खर्ब ७४ अर्ब ४ करोड बराबर रहेको सार्वजनिक ऋण अब २७ खर्ब २९ अर्ब ४१ करोड हाराहारी पुगेको छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा ४४.६९ प्रतिशत हो ।
अहिले सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ७५ अर्ब ९६ करोड पुगेको छ । जुन जीडीपीको २०.८९ प्रतिशत हुन आउँछ । वाह्य ऋण दायित्व १४ खर्ब ५३ अर्ब ४५ करोड छ । यो जीडीपीको २३.८० प्रतिशत बराबर हो ।



