पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
पोखरा, १७ मंसिर । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तर्राष्ट्रिय उडान क्षमताको अभावलाई देशको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई रुपान्तरण गर्न ‘इण्टरकन्टिनेन्टल फ्लाइट हब’ बनाउने रणनीति अघि सारेका छन् ।
मंगलबार पोखरामा आयोजित ‘पर्यटनमय पोखरा’ कार्यक्रममा बोल्दै बस्नेतले बेरोजगारीले देशमा असन्तुष्टि र सामाजिक समस्या बढाइरहेको उल्लेख गर्दै रोजगारी सिर्जनाका तीन मुख्य आधार—पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
‘११ लाखमा पर्यटन स्याचुरेट’
उनका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) मा वार्षिक १०–११ लाख ‘पर्यटक श्रेणी’का आगन्तुक देखिए पनि त्यसमा ठूलो संख्या गैरआवासीय नेपाली र विभिन्न दूतावास तथा संस्था (एनजीओ–आइएनजीओ) मा कार्यरत विदेशीहरूको रहने भएकाले वास्तविक पर्यटक संख्या बढ्न नसकेको बताए ।
‘देशको पर्यटक क्षमता ११ लाख वरिपरि थिंग्रिएको छ, अब यो मोड्न अन्तरमहादेशीय उडान अनिवार्य छ,’बस्नेतले भने ।
भैरहवाबाट अन्तरमहादेशीय उडान सम्भव
बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) भौगोलिक र प्राविधिक हिसाबले वाइड–बडी जहाज उडानका लागि उपयुक्त रहेको दाबी गरे । एयरबसका प्राविधिकसँगको अध्ययन टेर्ड गर्दै उनले ब्३५०–१००० जस्ता ३६९ सिट क्षमताका जहाजले भैरहवाबाट टोरन्टो, न्युयोर्क, लस एन्जलससम्म सीधा उडान भर्न सक्ने स्पष्ट गरे ।
उनका अनुसार एक ब्३५० जहाजले वर्षमा करिब १ लाख यात्रु ओसारपसार गर्न सक्ने भएकाले भैरहवाबाट पाँच जहाज निरन्तर सञ्चालन गर्न सकिए वर्षमा ५ लाख नयाँ पर्यटक भित्र्याउन सकिने छ ।
‘नेपाल एयरलाइन्स रूपान्तरण बिना सम्भव छैन’
बस्नेतले अन्तरमहादेशीय उडान विस्तारका लागि नेपाल वायुसेवा निगमलाई ‘पूर्ण रूपान्तरण’ गर्नुपर्ने आवश्यकता दोहो¥याए । अन्तर्राष्ट्रिय रूपमा जहाज खरिद १० प्रतिशत डिपोजिटमा ‘लिज–परचेज’ मोडेलबाट हुने भन्दै १८० मिलियन डलर मूल्य पर्ने जहाज नगद किन्ने पुरानो अभ्यास त्याग्नुपर्ने बताए ।
‘इथोपियन एयरसँग १०० वटा ७८७ जहाज छन्, नेपालले वर्षमा पाँचवटा ब्३५० ल्याउन नसक्ने कारण छैन,’उनले भने ।
पोखरामा बैंककसम्म उडान सम्भव, ‘राजनीतिक इच्छाशक्ति चाहिन्छ’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे बोल्दै उनले एयरबस ३१९ (१४० सिट) जस्ता जहाजले बैंककसहित दक्षिण र दक्षिणपूर्व एसियाका प्रमुख गन्तव्यमा सीधी उडान भरिन सक्ने बताए । ‘प्राविधिक समस्या छैन, समस्या राजनीतिक इच्छाशक्ति हो,’उनले स्पष्ट पारे ।
पर्यटनमा ‘स्काई इज द लिमिट’
बस्नेतले व्यवस्थापन, मार्केटिंग, र योजना आधारित पर्यटन पूर्वाधार विस्तार गर्न सके नेपालले बाली जस्तै पर्यटक आकर्षित गर्न सक्ने बताए । ‘बालीले वर्षमा ७० लाख पर्यटक ल्याउँछ, नेपालका लागि २०–३० लाख ठूलो संख्या होइन,’उनले भने ।
उनले भैरहवा विमानस्थलको पूर्ण सदुपयोग नै नेपालको पर्यटन विस्तारको केन्द्रबिन्दु हुने दाबी गरे ।



