नेप्से परिसूचकमा गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं, १७ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा आइपुगेको हो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन ५ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार ४ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको थियो। बजार घट्दा पनि ५ कम्पनीमा सर्किट ब्रेक लागेको छ।
सागर डिष्टिलरी, मिथिल्ला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो। बुधबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये फाइन्नास, होटल एन्ड टुरिजम, उत्पादनमूलक समूह र म्युचुअल फन्ड समूह बढेका छन्। अन्य समूहमा गिरावट देखिएको छ।
यसदिन सबैभन्दा बढी फाइन्नास समूह १.५९ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार समूह सबैभन्दा धेरै ०.३२ प्रतिशतले घटेको छ। कारोबारमा आएक ३३२ कम्पनी मध्ये ७४ वटाको मूल्य बढेको छ भने एक सय ७७ वटाको सेयर मूल्य घटेको छ। बाँकीको स्थिर छ।यस दिन बन्दीपुर केवलकार कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ११ करोड ४९ लाख रूपैयाँ बराबरको कारोबार भएको हो।
त्यस्तै आज सागर डिष्टिलरी, मिथिल्ला लघुवित्त, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्री नगर एग्रिटेकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। त्यस्तै सामलिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै २.८५ प्रतिशतले गुमाएका छन्।



