नेपालमा अब १ सयको भारु मात्र चल्ने
काठमाडौं , २८ मंसिर । सरकारले दुई सय दरको भारतीय रुपैँया प्रयोगमा नल्याउन सर्व साधरणलाई आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकलाई सय भारु भन्दा माथिल्लो दरका नोटहरु प्रयोगमा नल्याउन सर्वसाधरणलाई सचेतना जगाउन निर्देशन दिने निर्णय गरेको हो । नेपालले यसअघि नै नोटबन्दीपछि भारत सरकारले प्रयोगमा ल्याएका ५०० र २००० दरका भारु नोट प्रयोगमा रोक लगाइसकेको छ ।
भारतमा ठूला दरका नोटहरु दुई वर्षअघि प्रतिबन्ध गरिएको थियो । नेपालमा ठूला दरका नोट चलाउन सक्ने र भारतबाट फर्कदाँ ठूला दरका भारु नोट २५ हजार सम्म साथमा राख्न सकिने व्यवस्था भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकै समयमा नेपालमा पनि ठूला दरका भारतीय रुपैँया चलाउने सहमति भएको थियो । भारतमा ५०० र १००० दरका भारु प्रतिबन्ध गरेपछि नेपालले पनि आफूसँग भएका ठूला दरका नोट सटहीका लागि भारतलाई आग्रह गर्यो । तर भारतले नेपाललाई सटही सुविधा दिन अस्वीकार गर्यो । अहिलेसम्म पनि नेपालसँग रहेका प्रतिबन्धित ५०० र १००० दरका नोटको सटहीको टुंगो लागेको छैन ।
भारतीय रुपैँया नेपाल र भुटानमा प्रचलनमा छ । खासगरी भारतसँगको खुल्ला सीमाका कारण मालबहाक ट्रक, कन्टेनरको भाडा भरोट, भारतमा शिक्षा र उपचारका लागि आउजाउ गर्ने नेपालीहरुले भारतीय रुपैँया प्रयोगमा ल्याउँछन् । नेपालको भारतसँगको सीमा क्षेत्रमा भारतीय रुपैँयाको कारोबार बाक्लै हुन्छ । तर पनि भारतले ठूला दरका नोट प्रतिबन्ध गरेपछि नेपाललाई सटही सुविधा दिन आलटाल गर्दै जानुलाई आश्चर्यपूर्ण ढंगले हेरिएको छ ।
विश्वासको संकट
प्रतिबन्धित नोटको सटही सुविधा नपाएपछि नेपालले यसअघि नै नोटबन्दीपछि भारत सरकारले प्रयोगमा ल्याएका ५०० र २००० दरका भारु नोट प्रयोगमा रोक लगाइसकेको छ । ‘नेपालमा एक सय दरका भारतीय रुपैँया मात्र प्रयोगमा ल्याउन पाइन्छ । त्यो पनि काम विशेषले भारत जानुपरेको या भारतीय रुपैँयामा कारोबार गर्नुपर्ने अवस्थामा । घरमा सञ्चय गरेर राख्न पाइँदैन,’ नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगाना भन्छन् ।
भारतले भने नोटबन्दीपछि निस्केका ५०० र २००० दरमा भारु नोट नेपालमा प्रयोग गर्न स्वीकृती दिएको हो । तर नेपालले भने प्रयोगमा ल्याउनै चाहेन । यसको कारण हो– विश्ववासको संकट । भारतले नोटबन्दीपछि भारतीय शीर्ष राजनीतिक नेतृत्वको भ्रमणको समयमा दिएको सुविधालाई ख्याल गरेर नेपाललाई सटही सुविधा दिनुपथ्र्यो । नेपालले पटक–पटक सरकारको तहमा कुरा राख्दा पनि यो विषयलाई भारतले ध्यानै दिएन । जसका कारण नेपालले ठूला दरका भारु नोट नचलाउने भएको हो ।