वाइडबडीको अनियमितताको छानबिन अख्तियारलाई दिन र पर्यटनमन्त्री अधिकारीलाई कारवाही गर्न उपसमितिको सिफारिस
काठमाडौं १८ पुस – संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा भएको अनियमितता छानबिन गर्न अख्तियारलाई निर्देशन दिनुपर्ने निश्कर्ष निकालेको छ । उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित २ जना पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गर्दै अख्तियारलाई कारवाहिका लागि निर्देशन दिनुपर्ने सुझाब दिएको हो ।
उपसमितिले तयार पारेको प्रतिवेदन लेखा समितिको पूर्ण बैठकमा पेश हुनेछ । समितिले प्रतिवेदन पारित गरेमा बाइडबडीमा भएको भनिएको नियमितता अहिलेसम्मकै ठूलो अनियमितता हुनेछ । यस्तै उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै मन्त्री अधिकारीसहित बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राईलाई पनि निलम्बनसहित कारबाहीको माग गरेको छ । उपसमितिले पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई पनि दोषी देखाएको छ ।
यस्तै वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल निलम्बन गरेर कारबाही गर्न भनिएको छ । उपसमितिले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र अहिले राष्ट्रियसभाका सदस्यसमेत रहेका पूव पर्यटन मन्त्री जितेन्द्र नारायण देवलाई कारबाहीको सिफारिस गरेको छ ।
नेपाल वायुसेवा निगमले गएको असार र साउनमा झण्डै २५ अर्ब रुपैयाँ खर्च गरेर एयरबस कम्पनीका २ वटा वाइडबडी जहाज खरिद गरेको थियो । जसमा ठुलै आर्थिक अनियमितत् भएको आशंका भएपछि समितिले उपसमिति गठन गरेर छानविन अगाडि बढाएको हो ।