सरकारको स्वास्थ्य बीमा कार्यक्रम : ४२ जिल्लाका १६ लाख नागरिक आवद्ध, बीमा गर्नेमा सबैभन्दा धेरै चितवनका
बलराम बुढाथोकी
काठमाडौं ३०, फागुन । नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा ४२ जिल्लाका करिव १६ लाख नागरिकले बीमा गराएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार यो कार्यक्रम हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, बैतडी, आछाम, खोटाङ, स्याङजा, सिराह लगायतका ४२ जिल्लामा संचालित छ । चालु आर्थिक वर्ष भित्र ७७ वटै जिल्लामा कार्यक्रम संचालनको तयारी बोर्डले गरेको छ।
आर्थिक वर्ष २०६९÷७० को बजेट भाषणमार्फत सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त आर्थिक वर्षमा कार्यक्रम अगाडि बढाउने कार्य शून्यः प्राय रहे पनि आर्थिक वर्ष २०७०÷७१ को बजेटमा सरकारले पुनः स्वास्थ्य बीमा नीति जारी गरी ५ वर्ष भित्र देशभर स्वास्थ्य बिमा कार्यक्रम पु¥याउने योजना प्रस्तुत गरेको थियो । तर अहिलेको तथ्यांकलाई हेर्दा लक्ष्य अनुसार नै कार्यक्रम सम्पन्न गर्न निकै कठिन देखिन्छ ।
बोर्डका अनुसार सबै भन्दा बढी चितवनमा १ लाख ३८ हजार ८ सय ५२ जनाले स्वास्थ्य वीमा गराएका छन् भने सबै भन्दा कम दार्चुलामा ४ जनाले स्वास्थ्य वीमा गराएका छन् । पछिल्लो समय स्वास्थ्य बीमाको त्यत्ति प्रभावकारीता नदेखिएको भएपनि अब यसलाई जनता सामु प्रभावकारी बनाउँदै लगिने बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले बताए ।
पोखरेलले भने–‘पछिल्लो समयमा स्वास्थ्य बीमा त्यति प्रभावकारी नभएको जस्तो देखिए पनि यसलाई प्रभावकारी ढंगले अगाडि वढाउने योजनामा छांै । स्वास्थ्य जनताको आवश्यकता र अधिकार हो । संविधानले नै नागरिकलाई स्वास्थ्य सम्बन्धीको अधिकार दिएको छ । हामी चालु आर्थिक वर्षसम्ममा नेपालका सम्पूर्ण जिल्लाहरुमा स्वास्थ्य वीमा कार्यक्रम लागु गराउछौ ।’
त्यस्तै जनताले स्वास्थ्य बीमा कार्यक्रमकोबारेमा थाहा पाउँन नसक्दा यो कार्यक्रम प्रभावकारी हुन नसकेको उनको दावी छ । सबैलाई सरकारी स्वास्थ्य वीमामा जोड्नको लागि स्थानीय स्तरबाटै व्यापक प्रचार प्रसार गर्नु पर्ने उनको भनाई छ ।
स्वास्थ्य बीमामा आवद्ध हुने तरिका र यसबाट प्राप्त हुने सेवा
स्वस्थ्य वीमा कार्यक्रममा आवद्ध हुने पाँच जना सदस्य भएको परिवारले प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ शुल्क नेपाल सरकारलाई तिनु पर्ने हुन्छ । तर परिवारका सदस्य ५ भन्दा वढी छन् भने परिवारको एक सदस्य बराबर ४ सय ५० का दरले थप शुल्क तिर्नु पर्ने हुन्छ । उक्त शुल्क तिरेर प्राप्त गरेको परिचय पत्रको आधारमा वर्ष भरी ५० हजार सम्मको स्वास्थ्य सेवा प्राप्त गर्न सकिने छ । एक वर्ष पुरा भएपछि पुनः २ हजार ५ सय तिरेर नविकरण गर्नु पर्ने हुन्छ । गरिविको प्रमाण पत्र प्राप्त गरेकाहरुलाई निशुल्क स्वास्थ्य बीमा गराउने पोखरेलले जानकारी दिए ।
१ वर्षमा के–के स्वास्थ्य सेवा उपलव्ध हुन्छ ?
आधारभूत स्वास्थ्य सेवा र इमर्जेन्सी सेवा, ईसीजी सेवा, एमआरआई जस्ता स्वास्थ्य सेवाहरु प्राप्त गर्न सकिने छ । अनि यही प्याकेज भित्र १ हजार १ सय ३३ किसिमका औषधी पनि प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।