होली पर्व सुरक्षाका लागि १ सय ७ स्थानमा प्रहरी चेक पोइन्ट

काठमाडौं,६ चैत । उपत्यकामा होलीलाई व्यवस्थित र मर्यादित बनाउन तीन हजार सुरक्षाकर्मी परिचालित गरिएको छ । होली पर्व सुरक्षाका लागि १ सय ७ स्थानमा चेक पोइन्ट राखिएको
महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ ।

काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । जसमा करिब ३ सय जना सादा पोसाकका प्रहरी खटिने महानगरि प्रहरी परिसर टेकुले जनाएको छ । यस्तै ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिने जनाइएको छ ।८५ वटा क्विक रेस्पोन्स टिम खटिनेछन्। २० वटा मोबाइल गाडीले गस्ती गर्ने जनाइएको छ।

जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधि गर्नेलाई प्रहरीले तुरुन्तै पक्राउ गर्ने समेत जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गरिने बताएकोछ ।

यसै बीच गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ । होली पर्वका अवसरमा देश÷विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । “कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्र्रति नगर्न र नगराउन गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *