२०७५ मा पर्यटन क्षेत्र : मन्त्रीको दुखद निधन, वाइडबडी र पदयात्रामा पर्यटक बिरामी पार्ने काण्डको चर्चा
बीआर बुढाथोकी
काठमाडौं, १ बैशाख । वि. सं २०७५ साल पर्यटन क्षेत्रका लागि केही आशा र केही निराशामा बित्यो । गत वर्ष हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्रीको दुखद निधन देखि वाइडबडी खरिदमा भएको घोटला र पदयात्रामा जाने पर्यटकलाई बिरामी पार्ने काण्ड बाहिर चर्चामा आयो ।
फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनमा परि पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र बहादुर अधिकारी, पर्यटन उद्यमी आङछिरिङ शेर्पा सहित ७ जनाको निधन भयो । यो घटनाले नेपाल मात्र नभएर विश्वलाई नै दुखित तुल्यायो ।
त्यस्तै, यही वर्ष वाइडबडी खरिद प्रकरणले निकै चर्चामा रह्यो । संसदीय लेखा समितिले पनि वाइडबडी खरिदमा अनियमितता भएको ठहर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगामा उजुरी दियो । पदयात्रामा जाने पर्यटकलाई विरामी पार्ने गरेको काण्डले विश्वभर नेपालको नकारात्मक प्रचार गरायो ।
२०७५ साललाई पर्यटन आगमनको हिसाबले हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा लिन सकिन्छ । इतिहासकै सबैभन्दा बढी १० लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आए । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको देखिन्छ ।
गत वर्षबाट जुगल हिमाल आरोहणका लागि खुल्ला गरिएको छ । यसले पर्यटन क्षेत्रमा महत्वपूर्ण उपलब्धी मिलेको महसुस गर्न सकिन्छ । काठमाडौंबाट नजिकै पर्ने यस हिमाललाई सरकारले प्रतिबन्ध लगाएको थियो । तर हालै यस हिमालमा सफलता पूर्वक आरोहण गरिएको छ ।
त्यस्तै फागुनसम्म ७२ आरोही समूहका ६ सय ३६ आरोहीले हिमाल आरोहण अनुमति पाएका छन् । यी मध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २८ आरोही समूह छन् । हिमाल आरोहणबाट ४१ करोड ४७ लाख ६८ हजार १ सय ४५ रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागले जानकारी दिएको छ । यस्तै सरकारले मुलुभर थप एक सय पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । यो नेपालको ठूलो उपलब्धीको रुपमा मान्न सकिन्छ । विभिन्न स्थानहरुमा पर्यटकहरुलाई आकर्षण गर्न नयाँ नयाँ पर्यटकीय प्रडक्ट विकास गरिएको छ । समग्रमा हेर्ने हो भने गत वर्ष पर्यटन क्षेत्र निराशा भन्दा आशा नै आशाले भरिएको छ ।