बीमा कम्पनीहरु बीच मर्जरका लागि बीमा समितिको विशेष छुट सहितको नयाँ निर्देशिका
काठमाडौं, १६ बैशाख । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मर्जरका लागि विशेष छुट दिने भएको छ। समितिले मर्जरसम्बन्धी नयाँ निर्देशिका जारी गरि मर्जरमा जाने कम्पनीहरुलाई विशेष छुट दिने जनाएको हो ।
समितिले यसअघि भएको बीमक गाभ्ने तथा गाभिनेसम्बन्धी निर्देशिका, २०७० खारेज गरेको छ । मर्जरमा जानका लागि सहजता ल्याउने उद्देश्यले यसअघिको निर्देशिकालाई खारेज गर्दै नयाँ निर्देशिका जारी गरिएको जनाइएको छ। नयाँ निर्देशिकासँगै अव बीमा कम्पनीहरु स्वतस्फूर्त मर्जरमा जान हुने छन् ।
अब भने मर्जरमा जानका लागि बीमा कम्पनीको सञ्चालक समितिले नै निर्णय गरेर बीमा समितिबाट सैद्धान्तिक स्वीकृति लिन सक्नेछ । समितिबाट सैद्धान्तिक स्वीकृति लिएर भने कम्पनीले विशेष साधारणसभा बोलाएर मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।यसअघिको व्यवस्थामा भने समितिबाट सैद्धान्तिक स्वीकृति लिन जानुपूर्व नै साधारणसभाबाट पारित गराउनुपर्ने व्यवस्था थियो ।
गाभ्ने, गाभिने तथा प्राप्ति हुनु भन्दा अघि बहाल रहेको बीमकका प्रमुख कार्यकारी अधिकृतको हकमा कुलिङ्ग पिरियड लागु नहुने व्यवस्था समितिले गरेको छ । त्यस्तै, दुई वा दुई भन्दा बढी बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने कार्य गर्दा बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी अपुग हुन गएमा एक बर्षसम्मको अवधि प्रदान गर्न सक्ने तथा बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको सेयर संरचनामा कुनै एक ब्यक्ति, सुहह वा संस्थाको नाममा चुक्ता पूँजीको पन्ध्र प्रतिशत भन्दा बढी शेयर स्वामित्व कायम हुन गएमा त्यस्तो शेयर स्वामित्वलाई पन्ध्र प्रतिशतको सीमाभित्र ल्याउन दुई बर्षसम्मको अवधि प्रदान गरिने निर्देशिकामा उल्लेख गरिएको छ ।
बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति हुँदा समितिले जारी गरेको लगानी निर्देशिका, २०७५ को सीमा फरक पर्न गएमा एक वर्ष भित्रमा लगानीको सीमाभित्र ल्याउनु पर्ने तथा बीमकहरु एक आपसमा गाभिए वा प्राप्ति भए पश्चात त्यस्तो बीमकको सल्भेन्सी मार्जिन समितिले तोकेको सीमा भन्दा कम हुन गएमा आगामी एक वर्षसम्म सीमा भित्र ल्याउनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।