Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव, कर्जा विस्तारमा रोक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव, कर्जा विस्तारमा रोक

काठमाडौं, ९ पौष । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव शुरु भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा खर्च भएको रकम बैंकिङ क्षेत्रमा नफर्केका कारण बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव सिर्जन भएको बताइएको छ । ‘निर्वाचनको लागि भएको खर्च बैंकिङ क्षेत्रमा फर्केको छैन,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । तरलता अभावको कारण बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप आकर्षण गर्न मुद्दती निक्षेपमा व्याजदर वृद्धि गरेको छ । तरलता आभावको कारण बैंक तथा वित्तीय संस्थाहरुले नयाँ कर्जा विस्तारमा रोक लगाएको बताइएको छ । ‘राष्ट्र बैंकले तरलता उपलब्ध नगराउने भएको छ, त्यसैले बैंकहरुले व्याजदर बढाएर निक्षेप आकर्षण गरेको हो,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

विशेष गरि बैंक तथा वित्तीय संस्थाहरुले पहिलो र दोस्रो त्रैमासिकमा व्यवसाय विस्तार गरेको हुन्छ । निक्षेप संकलन र कर्जा विस्तार यहि समयमा गर्ने भएकोले तरलतामा प्रभाव पर्ने बताइएको छ । यता बैंक तथा वित्तीय क्षेत्रले व्यवसाय विस्तारको तुलनामा सरकारले भने पुँजीगत खर्च आशा अनुरुप गर्न सकेको छैन । सोहि कारण पनि बैंक तथा वित्तीय क्षेत्रमा तरलता प्रशोचन हुन नसकेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक देखी बैंक तथा वित्तीय संस्थाहरुले कर्जा संकट खेपेको थियो । यसरी कर्जा संकट हुँदा निक्षेप संकलनका लागि व्याजदर वृद्धि गरेको थियो ।

तरलता संकुचन र कर्जा संकटको कारण बैंक तथा वित्तीय संस्थाहरुको मुनाफा आर्जनमा प्रभाव परेको छ । जुन बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको वित्तीय प्रतिवेदनले पुष्टी गर्दछ । उच्च व्याजदरमा निक्षेप संकलन गर्दा कर्जाको व्याजदर स्वभाविक रुपमा बढ्ने हुन्छ । चर्काे व्याजदरका कारण कर्जा विस्तार हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुको मुनाफा आर्जनमा प्रभाव परेको हो । ‘लागत बढेपछि मुनाफामा असर देखिएको छ,’ ज्ञानेन्द्र ढुंगानाले बताए ।

यता केन्द्रिय बैंकको चुक्ता पुँजी वृद्धिको निर्देशनका कारण बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजीमा नै केन्द्रित भएको पाइन्छ । चुक्ता पुँजी वृद्धि संगै अब बैंक तथा वित्तीय संस्थाहरुले व्यवसाय विस्तारमा क्रमिक सुधार गर्ने बताएको छ । ‘८ अर्बको पुँजी अनुसारको मुनाफा अहिले गाह्रो छ, मुनाफा आर्जनमा क्रमिक सुधार हुन्छ,’ ढुंगानाले बताए । यस्तै पुँजी वृद्धिको सापेक्षमा मुनाफा आर्जनको आशा गर्नु स्वभाविक हो । तर संचालक समितिले व्यवस्थापनलाई मुनाफा आर्जनमा दवाव दिन नहुने बताइएको छ । ‘बोर्डले मुनाफाको आशा गर्दछ, तर म्यानेजमेन्टले नै मुनाफा आर्जनको आधार बनाउने हो,’ अशोक राणाले बताए ।

मुलुकको अर्थव्यवस्थासंग बैंकिङ क्षेत्रको सम्बन्ध एकआपसमा रहेको छ । अर्थव्यवस्थामा सुधार आउँदा बैंक तथा वित्तीय क्षेत्रको व्यवसाय विस्तार हुन्छ । तर अहिले मुलुक राजनितीक संक्रमणबाट बाहिर निस्कने क्रममा रहेकाले बजारमा मुद्रा प्रदाय प्रक्षेपण गरे अनुसारको हुनसकेको छैन । त्यसैको कारण वित्तीय प्रणालीमा तरलता संकुचन र कर्जा संकटको चक्र छोटो अवधिमा नै देखिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x