सामाजिक सुरक्षा कोषमा आवद्ध हुनबाट कोही उम्कन मिल्दैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ११ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनबाट कोही पनि उम्कन नमिल्ने बताएका छन् । सामाजिक सुरक्षा कोष स्थापनाको एक बर्ष पुगेको अवसरमा कोषद्वारा आज आयोजित ‘सामाजिक सुरक्षा दिवस’ कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष दीर्घकालीन योजना भएकाले यसमा आबद्ध हुनुको विकल्प नभएको बताए ।
समृद्ध नेपाल सुखि नेपाली निर्माण गर्ने सरकारी अभियानमा समेत यसले सघाउ पु¥याउने भएकाले उनले सबै श्रमिक र रोजगारदातालाई कोषमा आवद्ध हुन आग्रह गरे । श्रमिकले उचित श्रम र प्रतिष्ठानले लगानीको उचित फल पाउनुपर्ने भन्दै उनले यो योजनालाई प्रधावकारी बनाउदै लैजान सरकार सधै तयार रहेको पनि बताए ।
त्यस्तै कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यो योजनाले श्रमिक र प्रतिष्ठानको उत्पादकत्वमा बृद्धि भएको विश्वास व्यक्त गरे । उनले श्रमिकलाई सम्मानजनक र सुरक्षित भविष्यको सुनिश्चत गराउन कोषले ठुलो मदत गर्ने उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाािण्ज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषबारे सबैलाई बुझाउन नसकेका कारण सबै श्रमिक तथा प्रतिष्ठानले सुचीकरण गर्न ढिलाई गरेको बताए । नीति र निर्णयबाट मात्रै सबैलाई कोषमा आवद्ध गराउन नसकिने हुदा व्यवहारिकरुपमा नै सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।
त्यसैगरि कार्यक्रममा श्रमिक संगठनका प्रतिनिधिहरुले कोषको स्थापना भएको १ बर्ष बितिसक्दा पनि योजनाले यथोचित निकास नपाएकाले अझैपनि श्रमिकहरु अन्यौलम रहेको भन्दै स्वरोजगार क्षेत्र , अनौपचारिक र असंगठित क्षेत्रका मजदुरलाई पनि कोषमा आवद्ध गराउनुपर्नेमा जोड दिए ।
गत वर्षको मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओली कोषको शुभारम्भ गरेका थिए । तर गत श्रावण १ गते देखि मात्रै कोष कार्यान्वयनमा आएको हो ।
कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीका अनुसार कोषमा ११ हजार प्रतिष्ठान र १ लाख १५ हजार श्रमिक आवद्ध भएका छन् । त्यसबाट १७ करोड रुपैयाँ रकम संकलन भएको उनले जानकारी दिए ।
कोषमा आवद्ध हुनेले निवृत्तिभरण सुबिधा , व्यवसायजन्य रोग तथा रोजगारीजन्य दुर्घटनाको उपचार , आश्रित परिवारको निवृत्तिभरण तथा सन्तती वृत्ति लगायतको सुविधा पाउने छन् । सोहि अनुरुप स्वर्गीय रुपेन्द्र धामी र प्रकाश मोक्तानको परिवारलाई सुबिधा वापतको रकम सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।