Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन दुई साता बाँकी, सरकार उद्घाटनलाई भव्य बनाउने अन्तिम तयारीमा

‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन दुई साता बाँकी, सरकार उद्घाटनलाई भव्य बनाउने अन्तिम तयारीमा

काठमाडौं, ३० मंसिर । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब दुई साता मात्र बाँकी छ । नेपाल सरकार यतिबेला भ्रमण वर्ष उद्घाटनको अन्तिम तयारीमा जुटेको छ ।

जनवरी १ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम तय गरिएको छ । सरकार यतिबेला उद्घाटन समारोहलाई भव्य बनाउन लागिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिए । विभिन्न समिति र उपसमितिहरु बनाएर आवश्यक तयारीको कामलाई तीब्र पारिएको उनले जानकारी दिए ।

विश्व बजारमा नेपाललाई आकर्षक, सुरक्षित र मनोरम गन्तव्यका रूपमा स्थापित गर्न सरकारले गतआर्थिक वर्षको बजेट मार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको हो ।

सरकारी तथ्यांक अनुसार सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएका छन् । सन् २०२० मा लक्ष्य भेट्टाउन त्यो भन्दा ८ लाखभन्दा बढी पर्यटक ल्याउनुपर्ने छ । तर उक्त लक्ष्य भेटिनेमा सरकार स्वयंम र पर्यटक व्यवसायी पनि अझै विश्वस्त छैनन् ।

‘नर्मल ग्रोथको आधारमा पनि सन् २०२० मा १६–१७ लाख पर्यटक नेपाल आउछन् ।’ सचिव अधिकारीले भने, ‘लक्ष्य भेट्टाउन ३–४ लाख बढी संख्या आवश्यक पर्छ । त्यसैका लागि हामी प्रयासरत छौ ।’ सरकार आफै र नेपाल पर्यटन बोर्डले पनि बाह्य प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको र विदेश स्थित नेपाली दूतावास र गैरआवासीय नेपालीहरुलाई पनि प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको सचिव अधिकारीले जानकारी दिए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुबेदी पनि लक्ष्य भेटिनेमा ढु्क्क छैनन् । ‘लक्ष्य नै सबैभन्दा ठुलो कुरो होइन, यो सरकार, पर्यटन व्यवसायीको मात्र नभई सबै नेपालीको पर्व हो । ’ उनले भने, ‘त्यसकारण सबै मिलेर लाग्दा लक्ष्य त्यती टाढा पनि छैन ।’

सन् २०२० मा पर्यटकलाई नेपाल आउन आकर्षित गर्न टानका सदस्यहरुले २० प्रतिशत छुट सुविधा दिने उनले जानकारी दिए । टानका सदस्यहरु मार्फत मात्रै ८ लाख पर्यटक नेपाल भित्रने अनुमान उनको छ । ‘यो बेला नेपाल आउने पर्यटकलाई केही नयाँ दिन सक्नुपर्छ । त्यसका लागि सरकारले एयरपोर्ट देखि अन्य पर्यटकीय क्षेत्रमा रहेका समस्याहरुलाई हलगर्दै पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्छ ।’उनले भने ।

त्यस्तै, होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले पनि पूर्वाधार निर्माण ध्यान दिनुपर्ने बताए । उनले भने– ‘हाम्रो एयरपोर्टको अवस्था पनि राम्रो छैन, भारत र चीन जोड्ने सडक मार्गको अवस्था पनि उस्तै छ । त्यसको सुधारमा सरकार लाग्नुपर्छ ।’

गौतमबुद्ध विमानस्थललाई भ्रमण वर्षमै सञ्चालनमा ल्याउने सचिव अधिकारीले जनाए । त्यसले पनि संख्या बृद्धिमा सघाउ पुग्ने उनको अनुमान छ ।

उसो त यसअघि सरकारले सन् १९९८ र सन् २०११ मा पनि नेपाल भ्रमण वर्ष मनाएको थियो । सन् १९९८ मा ५ लाख र सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर दुबै वर्ष लक्ष्य अनुसार पर्यटक भित्रिएनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x