२७ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?
काठमाडौं, ६ माघ । बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई राम्रो लाभांश दिएका छन् । २७ वटा वाणिज्य बैंकले लाभांश वितरणको प्रस्ताव गरेकोमा अधिकांशले साधारण सभा सम्पन्न गरि वितरण समेत गरिसकेका छन् ।
हालसम्म लाभांश वितरण गर्ने वाणिज्य बैंकहरुमध्ये एनएमबि बैंक सबैभन्दा बढी लाभांश वितरण गर्ने बैंक बनेको छ । एनएमबिले चुक्तापूँजीबाट १४ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस सेयर गरी जम्मा ३५ प्रशितल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरी सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको छ ।
त्यस्तै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश वितरण गर्ने दोस्रोमा नबिल बैंक रहेको छ । बैंकले सेयरधनीहरुलाई ३४ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको पुस २२ गते सम्पन्न ३५औं साधारण सभाले १२ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो बैंकले पनि सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालिसकेको छ ।
हाल सम्म २४ वटा वाणिज्य बैंकहहरुले वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् । ४ वटाले साधारण सभा गर्न बाँकी छ । ४ वटामध्ये एनसीसी बैंकले माघ १७ गते र राष्ट्रिय वाणिज्य बैंकले २४ गते साधारण सभा गर्ने भएका छन् । तर, हिमालयन बैंकले लाभांश वितरणको प्रस्तावमात्र गरेको छ । हिमालयन बैंक सञ्चालक समितिको गत कात्तिक २८ गते बसेको ३७७औं बैठकले १२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गर्न सफल सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले सेयरधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो बैंकको माघ २४ गते हुने १३औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् ।
त्यसैगरी यो वर्ष ८ वटा बैंकहरुले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गरेका छन् । २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नेमा कृषि विकास बैंकले ३० प्रतिशत, ग्लोबल आईएमई बैंकले २५.५० प्रतिशत, नेपाल बैंकले २५ प्रतिशत, एभरेष्ट बैंकले २५ प्रतिशत, हिमालयन बैंकले २२ प्रतिशत, एन आई सी एशिया बैंकले २१.०५२ प्रतिशत, सानिमा बैंकले २१.०५३ प्रतिशत र स्टाण्डर्ड चाटर्ड बैंकले २२.५ प्रतिशत रहेका छन् । यी बैंकमध्ये हिमालयन बैंकले लाभांश दिने प्रस्तावमात्र गरेको छ भने बाँकी ७ बैंकहरुले लाभांश वितरण गर्न थालिसकेका छन् ।
जनता बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा मर्जर भई एकिकृत कारोबार गर्न सुरु गरेपश्चात हाल वाणिज्य बैंकको संख्या २७ वटा रहेको छ । यी दुई बैंकले मंसिर २० गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।
सेञ्चुरी बैंकले भने सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन् । यो बैंकले पनि फागुन महिनामा वार्षिक साधारणसभा गर्ने जानकारी दिएको छ । अहिले राष्ट्र बैंकमा लोनको प्रोभिजनलार्य सेटलमेन्ट गर्न लाग्दा केही लाभांश वितरण गर्न ढिलाई भएको बैंकको सेयर विभागले जानकारी दिएको छ । गत वर्ष ४.५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनश सेयर वितरण गरेको सेन्चुरीले हालसम्म पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन् । यो बैंकले. गत वर्षको वार्षिक साधारण सभा २०७६ वैशाख १२ गते गरेको थियो ।
अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष बढी नाफा कमाएकाले लाभांश दर बढाएका छन् । बैंकले चुक्ता पुँजी बढाएकाले लगानी बढेको र त्यसबाट आम्दानी पनि बढ्न गई नाफा समेत बढेको हो।