आजको मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने
काठमाडौं, २४ चैत । आज बस्ने मन्त्रिपरिषद् बैठकमा नेपाल राष्ट्र बैकको १७औं गभर्नरको नाम सिफारिश हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाको नेतृत्वको गभर्नर सिफारिश समितिले आइतबार बैठक गरी तीन जनाको नाम सिफारिश गर्ने टुंगो लगाएको छ । सिफारिशमा पर्नेमा महाप्रसाद अधिकारी, चिन्तामणी शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाल रहेको बताइएको छ ।
गभर्नर डा. चिरञ्जीवी नेपालको चैत ५ मा पदावधि समाप्त भएपछि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ । अहिले वरिष्ठ डेपुटी गभर्नरको हैसियतमा चिन्तामणी शिवाकोटीलाई नै पूर्ण अधिकारसहित कामु गभर्नर दिइएको छ ।
त्यस्तै, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् । उनलाई सुपरिवेक्षणमा दख्खल राख्ने व्यक्तिको रुपमा लिइन्छ । राष्ट्र बैंकमा लामो समय काम गरेका अधिकारी गभर्नरका स्वभाविक आकांक्षी हुन् ।
खनाल माघको अन्तिम साता अर्थ सचिवबाट सेवा निवृत्त हुन् । गभर्नर सिफारिश समितिमा मन्त्री खतिवडासहित पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थ सचिव एवं सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा छन् । समितिले आइतबार बैठक गरी तीन जनाको नाम टुंगो लगाएको हो ।
त्यस्तै, मन्त्रिपरिषद्ले लकडाउन व्यवस्थित गर्ने लगायतका निर्णय लिने बताइएको छ ।