Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

६ महिनामा लक्ष्य अनुसार नै राजस्व संकलन भएपनि मुख्य शीर्षकहरुमा भने कमी

६ महिनामा लक्ष्य अनुसार नै राजस्व संकलन भएपनि मुख्य शीर्षकहरुमा भने कमी

काठमाडौं, माघ १३ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्य अनुसारनै राजस्व संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३३४ अर्ब १४ करोड रुपैँयाको राजस्व संकलनको लक्ष्य राखेकोमा ३३५ अर्ब रुपैँया राजस्व संकलन भएको छ । सरकारले आर्थिक वर्ष २०७४—७५ को पहिलो ६ महिनामा कुल राजस्व लक्ष्य ७३० अर्ब ५ करोड रुपैँयामा लक्ष्यको ४५.९ प्रतिशत राजस्व संकलन गरेको छ ।

समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट), आयकर तथा भन्सार महशुलजस्ता मुख्य शीर्षकहरुमा लक्ष्यभन्दा कम असुली रहेको छ । एक सय अर्ब ८२ करोड रुपैँया भ्याटबाट संकलन हुने अपेक्षा रहेकोमा ९२ अर्ब ४० करोड रुपैँयामात्र संकलन भएको छ । त्यस्तै आयकरबाट ७४ अर्ब १५ करोड रुपैँयाको लक्ष्य रहेकोमा ७२ अर्ब रुपैँया संकलन भएको छ भने भन्सार महशुलतर्फ ६३ अर्ब १७ करोड रुपैँयाको लक्ष्य रहेकोमा ६१ अर्ब ९५ करोड रुपैँया राजस्व संकलन भएको छ ।
आयात वृद्धि भएपनि भन्सार महशुल भने तुलनात्मक रुपमा बढ्न सकेको छैन । राजस्व सचिव शिशिरकुमार ढुंगानाले उच्च महशुल भएका सवारीसाधनजस्ता वस्तुहरुको आयातमा भएको कमीका कारण आयात बढे पनि भन्सार महशुल बढ्न नसकेको बताए । गत वर्षको सोही अवधिको तुलनामा अर्ध वार्षिक अवधिमा आयात १३ प्रतिशतले बढेको छ । भन्सार राजस्वमा आएको कमीको असर भ्याटमा पनि देखिएको उनले बताए । भ्याटमा दर्ता भएका आधा करदाता विवरण नै बुझाउँदैनन् । ५० प्रतिशतमध्ये ३८ प्रतिशत शून्य फाइलर र क्रेडिट फाइलर छन् भने १२ प्रतिशतमात्रले भ्याट तिर्छन् ।
रजिष्ट्रेसन दस्तुर, सवारी साधन कर, शिक्षा र स्वास्थ्य सेवा कर पनि लक्ष्य भन्दा कम संकलन भएको छ । समीक्षा अवधिमा रजिष्ट्रेसन दस्तुर बापत् ९ अर्ब २१ करोडको लक्ष्यमा करिब दुई अर्ब रुपैयाँ कम राजस्व संकलन भई ७ अर्ब २२ करोड रजिष्ट्रेसन दस्तुर संकलन भएको छ । ६ अर्ब १३ करोड रुपैँया सवारीसाधनबाट संकलन गर्ने लक्ष्य रहेकोमा ५ अर्ब७१ करोड रुपैँया संकलन भएको छ । त्यस्तै, स्वास्थ्य सेवाबाट ६२ करोड रुपैँया र शिक्षा सेवाबाट ४५ करोड रुपैँया राजस्व संकलन भएको छ । स्वास्थ्यबाट ७७ करोड र शिक्षा बाट ५८ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको थियो ।
त्यस्तै अन्य कर र गैर कर राजस्व भने लक्ष्यभन्दा बढी संकलन भएको छ । अन्य करतर्फ ९ अर्ब ६३ करोड रुपैँय संकलन भएको छ भने गैर करतर्फ ३८ अर्ब १४ करोड रुपैँया संकलन भएको छ । अन्य करतर्फ ६ अर्ब ३८ करोड रुपैँया संकलनको लक्ष्य थियो भने गैर करतर्फ २६ अर्ब १८ करोड रुपैँया संकलन गर्ने लक्ष्य रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x