Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आर्थिक क्षति पुनःस्थापनामा सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्य आवश्यक : अर्थमन्त्री खतिवडा

आर्थिक क्षति पुनःस्थापनामा सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्य आवश्यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, ११ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९)ले हालसम्म पुर्‍याएको र पुर्‍याउन सक्ने आर्थिक क्षतिको पुनःस्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र निजी क्षेत्रको सामूहिक प्रयासको आवश्यकता औंल्याएका छन् ।
विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरूका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीबीच बिहीवार भएको भिडियो कन्फरेन्समा मन्त्री खतिवडाले कोरोनाको प्रकोपले उत्पन्न आर्थिक क्षतिको पुनःस्थापनाका लागि उक्त सहकार्यमा जोड दिएका हुन् ।
कोभिड–१९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको प्रसंगमा उठाउँदै उनले नेपालले ३ दशकदेखि गरीबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउँदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपिएको बताएका छन् । कोभिड–१९ ले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको प्रभाव रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरू र यस रोगको नियन्त्रणमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयासबारे उनले जानकारी दिएका थिए । त्यस्तै उनले विश्वव्यापी संकटको समाधान गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख गर्दै हालको संकटलाई सामना गर्न सीमानाकामा हुने मानिसहरूको आवतजावत नियन्त्रण, आप्रवासी कामदारका लागि आधारभूत सुविधा उपलब्ध गराउन आवश्यक रहेको पनि बताए ।
मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय सहयोग तथा समन्वय गर्नुका साथै स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने र ऋण स्थगन, ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकको वित्तीय क्षमता बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x