सरकारले थाल्यो तीन चरणमा उद्योग खुलाउने तयारी
काठमाडौं, २३ वैशाख । लडकडाउनका कारण ठप्प रहेका उद्योगहरू तीन चरणमा सुचारु गरिने भएको छ । यस्ता उद्योगहरू प्राथमिकताका आधारमा तीन चरणमा सञ्चालनको तयारी सरकारले गरेको हो ।
जस अनुसार पहिलो चरणमा आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने उद्योग, दोस्रो चरणमा विकास निर्माण क्षेत्रसँग सम्बन्धित र तेस्रो चरणमा निर्यातमूलक उद्योग प्रतिष्ठान सञ्चालन गरिने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलावार आयोजना गरेको ‘कोरोनापछिको उद्योग सञ्चालनको अवस्था’ विषयक बेविनारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका स्वास्थ्य प्रोटोकल अवलम्बन गरी उद्योग सुचाए गरिने जानकारी दिए ।
मन्त्रालयले कायविधि नै बनाएर उद्योग सञ्चालनको तयारी गरेको उनको भनाइ छ । आजै बस्ने कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा उद्योग सञ्चालनको मोडालिटीको अन्तिम सुझाव तयार हुने र बुधवारको मन्त्रिपरिषद्ले यसबारे निर्णय लिने उनले बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना, उत्पादन वृद्धि, खानी सञ्चालन तथा कृषिमा आधारित उद्योगलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम समेटिने मन्त्री भट्टले बताए । मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमन जारी राखेको र मूल् वृद्धि तथा कालोबजारी गर्नेहरूलाई कारबाहीसमेत गरिएको उनले बताए ।
भिडियो संवाददमा राज्यमन्त्री मोतीलाल दुगडले उद्योग सञ्चालन गर्न उद्योगीहरु तयार भए तापनि श्रमिकको पनि अभाव देखिएको बताए । यसको समाधानका लागि उद्योगी तथा श्रमिकका उद्योगी तथा टे«ड युनियनका प्रतिनिधिबीच पनि छलफल भइरहको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोरोना संक्रमण बढ्दै जाँदा उद्योगहरू संकटमा पर्दै गएको बताए । यो समस्या समाधानको लागि सरकार, नीजि क्षेत्र र श्रमिकहरुले समेत योगदान दिनुपर्ने उनले औंल्याए ।