तेस्रोपटक चामल खरीदको टेन्डर आह्वान गर्ने तयारीमा खाद्य व्यवस्था कम्पनी
काठमाडौं, २७ वैशाख । चामल खरीदका लागि लगातार दुई पटकसम्म आह्वान गरिएको टेन्टरमा कुनै पनि आवेदन नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुनः तेस्रोपटक टेन्डर खोल्ने तयारी गरेको छ । शुरूमा चैत्र ५ गते गरिएको पहिलो टेन्डरमा १ महिनासम्म पनि आवेदन नपरेकाले वैशाख १० गते दोस्रोपटक टेन्डर आह्वान गरिएको थियो । तर दोस्रो पटकमा समेत कुनै पनि आवेदन परेन ।
अन्ततः पुनः तेस्रो पटक टेन्डर आह्वान गर्नुपर्ने अवस्था आएको कम्पनीले बताएको छ । दोस्रोपटक आह्वान गरिएको टेन्डरमा शुक्रवार बोलपत्र पेश गर्ने अन्तिम दिन थियो । तर अन्तिमसम्म पनि कसैले आवेदन नगरेको बताइएको छ । तेस्रो टेन्डर खोल्ने मितिबारे भने अझै टुंगो लागिसकेको छैन ।
कम्पनीका अनुसार दुई पटकसम्म पनि टेन्डर नपर्नुमा लकडाउनपछि सामानको मूल्य बढेको, ढुवानीमा असहजता लगायत कारण हुन् । तेस्रो पटक पनि टेन्डर नपरेमा बजारको अध्ययन गरेर टेन्डरको बजेट पुनः इस्टिमेट गरिने बताइएको छ । र, उही स्थिति देखिएमा कम्पनीकै खरीद केन्द्रहरूलाई ५÷५ लाखको चामल खरीदको जिम्मा दिन सकिने कम्पनीको भनाइ छ ।
आफूसँग भएको खाद्यान्नको मौज्दात घट्न थालेपछि कम्पनीले १० हजार टन चामल खरीदका लागि टेन्डर आह्वान गरेको थियो । हाल कम्पनीसँग चामलसँगै, मुसुरो, रहर र केराउको दाल १५ क्वीन्टल, फापर ६ सय क्वीन्टल र कर्णालीको सिमी ५०० क्वीन्टल मौज्दात रहेको छ ।