भारतले भन्यो, ‘नेपालले एकपक्षीयरुपमा नक्सा छापेको मान्य छैन’
काठमाडौं, ८ जेठ । भारतले नेपालले भारतको समेत भूभाग समावेश गरेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको भन्दै नेपालको एकपक्षीय कदम आफूलाई मान्य नहुने बताएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सामा भारतको केही भूमि समेत परेको भन्दै नेपालको यो कार्य तथ्य र प्रमाणमा आधारित नभएको बताएक छन् । कुटनीतिक वार्ताका माध्यमबाट विद्यमान सीमासम्बन्धि मुद्दाहरुलाई समाधान गर्ने समझदारीको विपरित नेपालले कृत्रिम रुपमा नक्सा बढाएर भारतको भूभाग समेत समावेश गरेको भारतलाई मान्य नभएको उनले उल्लेख गरेका छन् ।
यससम्बन्धमा भारतको सधैं समान धारणा रहेकोमा नेपाल जानकार रहेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाललाई नक्साको दाबी छाड्न र भारतको भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् । नेपालको नेतृत्वले विद्यमान सीमा सम्बन्धि मुद्दाहरुलाई कुटनीतिक तवरबाट समाधान गर्न सकारात्मक वातावरण बनाउने भारतको अपेक्षा रहेको उल्लेख छ ।