Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एडीबीद्वारा कर्पोरेट वित्तीय विषय अनुमोदन

एडीबीद्वारा कर्पोरेट वित्तीय विषय अनुमोदन

फिलिपिन्स, १० जेठ । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको बीचमा वित्तीय विवरण अनुमोदन गरेको छ । पहिलोपटक आयोजना गरिएको भर्चुअल बैठकमा सन् २०१९ को कुल आम्दानीको बाँडफाँटको निर्णय पनि गरिएको थियो ।
गभर्नर बोर्डको ५३औं वार्षिक बैठकको पहिलो चरणमा उक्त वित्तीय विवरणहरू अनुमोदन भएको हो । बैठकमा ६८ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी थिए ।
दक्षिण कोरियाको इन्च्योन शहरमा सेप्टेम्बर १८ देखि २१ सम्म दोस्रो चरणको बैठक हुने तालिका छ । एडीबीका अध्यक्ष मसात्सुगु असकावाले बैठकमा बोल्दै आफूहरुको तत्कालको प्राथमिकता विकासशील मुलुकलाई कोभिड–१९ को महामारीको लडाइँमा सहयोग गर्नु र उनीहरुको अर्थतन्त्रलाई सामान्य अवस्थामा ल्याउन महत्वपूर्ण सहयोग गर्नु रहेको बताए ।
गभर्नर बोर्डले सन् २०१९ को कुल आयको १ अर्ब ६९ करोड डलर विनियोजन गर्ने प्रस्ताव पारित गरेको छ । साधारण पूँजीगत स्रोतबाट गरिएको यो बैंकको इतिहासमै सबैभन्दा बढी हो । अघिल्लो वर्षको वितरणयोग्य आय ८४ करोड १४ लाख डलर थियो ।
अहिले विनियोजन गरिएको रकममध्ये ६१ करोड ५७ लाख डलर साधारण सञ्चितिमा एडीबीको पूँजी पर्याप्तता एवं कुल आय आर्जन गर्न छुट्याइनेछ । यस्तै २५ करोड ९५ डलर कम आय भएका सदस्य मुलुकलाई अनुदान प्रदान गर्न एशियाली विकास कोषका लागि छुट्याइएको छ ।
प्राविधिक सहयोग विशेष कोषलाई १३ करोड डलर, क्षेत्रीय सहयोग र एकीकरण कोषका लागि तीन करोड, जलवायु परिवर्तन कोषका लागि दुई करोड ४० लाख डलर, एशिया प्रशान्त विपत्ति कोषका लागि एक करोड छुट्याइएको छ ।
गभर्नरहरुले बैंकको वार्षिक वित्तीय विवरण पनि स्वीकृत गरेका छन् । गतवर्ष बैंकको साधारण पूँजी स्रोतको सञ्चालन आम्दानी १ अर्ब १० करोड डलर छ । २०१९ को कुल आय एक अर्ब ५५ करोड डलर छ । एडीबीले आफ्ना सदस्य मुलुकलाई सक्रियताका साथ सहयोग गरिरहेको छ । बैंकले १३ अप्रिलमा कोरोना भाइरसको प्रभाव न्यूनीकरणका लागि २० अर्ब डलरको राहत प्याकेज ल्याएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x