Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बोधिसत्व विहारले लकडाउन यता एक लाख बढीलाई खाना खुवायो

बोधिसत्व विहारले लकडाउन यता एक लाख बढीलाई खाना खुवायो

काठमाडौं,१२ जेठ । बोधिसत्व विहारले लकडाउन यता एक लाख बढीलाई खाना खुवाएको छ । लकडाउन थपिदै जादा निम्न आय भएका र दैनिक आर्जनमा गुजारा गर्नेहरु मर्कामा परेपछि बिहारले उनिहरुलाइ खाना खुवाउन सुरु गरेको हो ।


बोधिसत्व विहार मानवसेवामा समर्पित बैद्धमार्गीहरुको अन्तर्राष्ट्रिय समूह हो । ताइवानमा मूल विहार रहेको बोधिसत्वका नेपाल, चीन, हङकङ, मलेसिया, भारत, अमेरिका, क्यानडा, सिंगापुर लगायत मुलुकमा शाखा छन् ।
यतिखेर बोधिसत्वका मूल गुरु हेगुवाङ शी नेपालमा छन् । लकडाउनअघि नेपाल आएका उनी अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यतै अड्किएका हुन् । यसै मौकामा नेपालमा समाजसेवी शान्त शर्मा लगायतको पहलमा ‘लकडाउन सपोर्ट फुड च्यारिटी’ सञ्चालन गरिएको हो, जसअन्तर्गत १७ अप्रिलदेखि उपत्यकाका १८ स्थानमा निःशुल्क भान्सा सञ्चालनमा छन् । फुड च्यारिटीको नेतृत्व गरिरहेका शान्त शर्माका अनुसार १७ अप्रिलदेखि बोधिसत्वले बाँसवासीस्थित सेन्ट्रल किचेनबाट मात्रै टिचिङ, कान्ति र गंगालाल अस्पतालका दैनिक १५ सयदेखि ३ हजार बिरामी तथा कुरुवालाई खाना र पानी खुवाइरहेको छ ।

यसका अतिरिक्त उपत्यकाका विभिन्न स्थानमा श्रमिकहरुलाई लक्षित गरी ५ वटा ठूला र १३ वटा पकेट किचेन सञ्चालनमा छन् । ठूला किचेन सबैका लागि खुला रहन्छ भने पकेट किचेन निश्चित समूहकेद्रित छ । बोधिसत्व विहारले आफ्ना किचेनमा आउनेजति सबैको प्राथमिक स्वास्थ्यपरीक्षण गर्छ । उनीहरुलाई स्वास्थ्य शिक्षा तथा परामर्श दिन्छ । हालको महामारीबाट कसरी बच्नेदखि लिएर व्यक्तिगत अनि घरवरपरको सरसफाइबारे सचेत गराउँछ । मास्क लगाउनु र हात धुनुको महत्व सिकाउँछ । कुपोषणबारे चेतना र गर्भवतीलाई चाहिने स्वास्थ्य परामर्श दिइरहेको जनाइएको छ । बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्तिदेखि ठूला किचेन बन्द गरिएका छन् । यसअघि, २३ मार्चसम्ममा सबै किचेनबाट गरी १ लाख ३ छाक खाना खुवाइएको तथ्यांक शान्तसँग छ । शान्तका भनाइमा पकेट किचेन भने चलिरहने छ र त्यसलाई अझ विस्तार गर्ने उनीहरुको योजना छ ।


पकेट किचन विशेषगरी श्रमिकहरुका छाप्रे बस्तीमा केन्द्रित छ । बस्ती बस्तीमा रहेका यस्ता किचेनका लागि ग्यास, रासन, तरकारी लगायत सबै आवश्यक वस्तु विहारले उपलब्ध गराउँछ । पकाएर खाने काम भने उनीहरुले नै गर्नुपर्छ । यसभित्र सामाजिक दुरी कायम गर्नुपर्ने सुझावसहित स्वयंसेवकहरुले त्यसको निगरानी गर्ने गरेका छन् । हरेक पकेट किचेनमा शिशुहरुलाई उमेरअनुसार ल्याक्टोजिन र लिटो दिइन्छ । बालक तथा वृद्धलाई विहारले घरमै बनाएको २० पौष्टिक तत्वयुक्त सर्वोत्तम पिठो दिने गरेको छ । अहिले सुत्केरीलाई चाहिने जडीबुटीयुक्त औषधिको तयारी चल्दै छ । छिटै त्यसको वितरण सुरु हुने शान्त बताउँछन् ।
अर्कातिर बोधिसत्वले स्वास्थ्य शिक्षा र सुरक्षामा पनि काम गरिरहेको छ । ठाउँठाउँमा मानिसहरुको आधारभूत परीक्षण गरी स्वास्थ्य शिक्षा र परामर्श दिइरहेको छ । विभिन्न जिल्लामा पुगेर फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिरहेको छ ।

बिहारले नेपालगञ्जमा ५० सेट पिपिई, २० लिटर स्यानिटाइजर, स्यानिटाइजर स्प्रे मेसिन र २ थान थर्मल गन पठाएको छ । परासीको पृथ्वीचन्द्र अस्पताललाई लागि ५ सेट पिपिई, ५ सय थान मास्क र ५ सय थान ग्लब्स सहयोग गरेको छ । त्यस्तै थापाथलीस्थित प्रसूति गृहलाई ५ सेट पिपिई, १३ सय मास्क र १ सय ग्लब्स तथा सुन्धारास्थित केन्द्रीय कारागारलाई २ सेट पिपिई, ३सय मास्क, ३सय ग्लब्स, १ सय लिटर फिनाइल, ६० लिटर हार्पिक र एउटा थर्मल गन उपहार दिएको छ । शान्तकै नेतृत्वमा विहारले उपत्यका छिर्ने सबै मुख्य नाकामा खटिएका सुरक्षाकर्मीलाई पिपिई, मास्क लगायत सुरक्षा सामग्री वितरण गर्दै छ । नागढुंगा र मुड्खु चेकपोस्टमा सिडियो कार्यालयका प्रतिनिधि राखेर सामग्री वितरण गरिसकिएको छ भने भक्तपुर र दक्षिणकाली नाकामा वितरण हुन बाँकी रहेको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x