औषधिको आयात बढ्दो, लकडाउनयता मात्र ६ अर्ब बराबरको आयात
काठमाडौं, ५ असार । गत चैत ११ देखि जारी लकडाउन शुरु भएयता औषधिको आयात बढ्दै गएको छ । मुख्यतः कोभिड १९ को उपचार प्रयोजनका लागि बढी मात्रामा औषधि तथा यसका लागि कच्चापदार्थ भित्रिएको पाइन्छ । लकडाउन यता हालसमम्मको अवधिमा रू. ६ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा रू. ५ अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।
सोही अवधिमा रू. ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार बराबरको तयारी औषधि र रू. १ अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ राससमा उल्लेख छ ।
मन्त्रालयका अनुसार लकडाउनमा ३ लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।
उनका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । पहिलो हप्तादेखि १०औं हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा ६ दशमलव ९ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा २ हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव १ र तयारी औषधिमा ४४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
बन्दाबन्दीको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्यांकानुसार पाँचौं हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात १०औं हप्ताको तुलनामा ११औं हप्तामा दोब्बर भएको छ । बन्दाबन्दीको छैटौं हप्तामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौं हप्तामा आयातमा वृद्धि भएको थियो ।