अदुवा निकासीमा भारतीय अवरोध कायमै, दीर्घकालिन समाधान खोज्न सरकारलाई व्यवसायीको आग्रह
काठमाडौं, २९ माघ । सरकारी सूचीमा रहेको नेपालको निर्यात योग्य बस्तु मध्ये अदुवा पनि एक हो । तर सरकारले निर्यातको उच्च प्राथमिकतामा राखेको अदुवा निर्यातमा भने भारतले पटक–पटक अवरोध गर्दै आएको छ । व्यवसायीहरुका अनुसार पछिल्लो दुई वर्षमा भारतले दर्जनौ पटक अवरोध गरेको छ । जसबाट व्यवसायी र किसानका लाखौ रुपैयाँ बराबरको अदुवा कुहिएर खेरा जाने गरेको छ ।
त्यस्तै पछिल्लो केही समय अघि पनि भारतले अदुवा निकासीमा पुन अवरोध गर्यो । भारतीय विदेश मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमण लगतै अदुवा निकासी खुला गरेको भन्ने समाचार बाहिर आएपनि त्यो केबल हल्ला मात्र भएको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार अहिले पनि अदुवा निर्यातमा अवरोध कायमै छ ।
व्यवसायीहरुले बैंक ग्यारेन्टी राखेर मात्र निर्यात गरिरहेका छन् । अदुवा व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्र खड्काका अनुसार कलकताको गभर्नरलाई अदुवा कुहिन लागेको भन्दै पटक–पटक आग्रह गरेपछि भारतको निर्यात नियामावलीको धारा १४३ अनुसार बैंक ग्यारेन्टी राखेर मात्र अहिले निर्यात गर्न दिइरहेको छ । यो निर्यात प्रक्रिया निकै झन्झटीको भएको उनले बताए । अध्यक्ष खड्काले अवको केही समय भित्र भारतले फेरी विगतकै जस्तो अवरोध गर्ने भन्दै नेपाल सरकारले भारतीय अवरोध हटाउन विशेष पहल चाल्नुपर्ने बताए ।
‘नेपाल सरकार र भारत सरकार बीचको व्यापार सम्झौता कार्यान्वयन नगर्दा निर्यातमा बारम्बार यस्तो समस्या आइरहेको हो ।’ उनले भने, त्यो सम्झौता कार्यान्वयनमा नेपाल सरकारले तत्कालै पहल नथाल्ने हो भने अदुवालाई निर्यात योग् बस्तुको सूचीमा राखेर मात्र हुनेवाला केही छैन ।’
नेपालबाट अदुवा मात्रै होइन अन्य कृषि उत्पादन निर्यातमा भारतीय बजारमै भर पर्नुपर्ने अवस्था छ । विश्वभरका अदुवा उत्पादन हुने मुलुक मध्ये भारत स्वयं दोस्रो धेरै अदुवा उत्पादन गर्ने मुलुक हो । त्यसकारण पनि अदुवा लगायतका अन्य कृषि उत्पादनको निर्यातमा दोस्रो मुलुकको खोजी गर्नु आवश्यक रहेको उनले बताए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ४४ करोड रुपैयाँ भन्दा बढीको अदुवा निर्यात भएको थियो ।