नयाँ सरकारको गठन हुने आशामा बढ्यो नेप्से, लगानीकर्ताहरुमा थपियो उत्साह
काठमाडौं, ३ फागुन । नयाँ सरकार गठन हुने आशामा विहिबार शेयर बजारमा सुधार भएको छ । शेर बहादुर देउवाले प्रधानमन्त्रीको पदबाट राजिनामा दिएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । केपी ओली प्रधानमन्त्री भएपछि नयाँ सरकार गठन हुन्छ ।
धेरै समयदेखी निरास बन्दै गएका शेयर लगानीकर्ताहरु विहिबार उत्साहित भएका छन् । नयाँ सरकारको गठन र अर्थतन्त्रले गति लिने आशामा शेयर लगानीकर्ताहरु उत्साहित भएका हुन् । यसरी लगानीकर्ताहरुमा उत्साह आउँदा शेयर बजार दोहोरो अंकले बढेको छ । विहिबार शेयर बजारको परिसुचकमा ३६.०१ अंकले बृद्धि भएको छ । यो वृद्धिसंगै नेप्से परिसुचक १४२४.९५ विन्दुमा उक्लेको छ ।
विहिबार नेप्से परिसुचकसंगै शेयर कारोबार रकममा समेत सुधार भएको छ । आज कुल १६५ कम्पनीहरुको १५ लाख ६ हजार ६३४ कित्ता शेयरको किनबेचबाट ६६ करोड ३९ लाख ५६ हजार २४९ रुपैयाँको कारोबार भएको छ । यसअघि पछिल्लो दिनहरुमा कारोबार रकम अधिकत्तम ३० देखी ३५ करोड रुपैयाँको हाराहारीमा हुने गरेको थियो ।
नेप्से परिसुचकसंगै विहिबार सम्पुर्ण समुहगत परिसुचकहरुमा सकारात्मक बनेको छ । आज वीमा समुह सबैभन्दा अधिक अंकले बढेको छ । विहिबार बैंकिङ ३१.३९, व्यापार समुह ५.९९, होटल २२.९६, विकास बैंक ५५.५, जलविद्युत ४९.०४, वित्त कम्पनी १७.५५, वीमा समुह २१३.९५, उत्पादन तथा प्रशोधन ५०.७५, अन्य समुह ७.३६ र लघुवित्त ६२.९१ अंकले बढेको छ ।