चालू आवको २ महिनामा उद्योग क्षेत्रमा ७ अर्बभन्दा बढीको एफडीआई
काठमाडौं, २० असोज । कोरोना महामारीकै बीच पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) भित्रने क्रम उत्साहजनक रहेको पाइएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको शुरुआती २ महिनामा उद्योगतर्फ ७ अर्ब रुपैयाँभन्दा बढीको एफडीआई आएको छ ।
विभागको पछिल्लो तथ्यांकले गत साउन र भदौ महिनामा उद्योगमा ७ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको देखाएको छ । ४५ वटा उद्योगका लागि सो लगानी आएको हो, जसमा पर्यटन सम्बन्धी ३२ वटा र सेवामूलक १३ वटा उद्योग रहेको विभागले जानकारी दिएको छ ।
लगानीका हिसाबले पर्यटनमूलक उद्योगका लागि ५ अर्ब ४५ करोड ५५ लाख र सेवामूल्यक उद्योगका लागि १ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उक्त संख्यामा उद्योग स्थापनापछि पर्यटनतर्फ ७१८ जना र सेवातर्फ ५०० जनाले रोजगारी पाउने सम्बन्धित विदेशी लगानीकर्ताले जानकारी गराएका छन् ।



