पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६४% सम्पन्न

कास्की, २३ असोज । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण ६४ प्रतिशत सम्पन्न भएको छ । कोभिड महामारी तथा लकडाउनका बीचमा समेत विमानस्थल बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा उक्त प्रगति हासिल भएको सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
बिहिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँगको छलफलमा हालसम्मको प्रगतिका बारेमा जानकारी गराउँदै आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्यांगर एप्रोनको काम सम्पन्न भएको बताएका छन् ।
राससका अनुसार आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटीसी टावर, ह्यांगर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कंक्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको मनकर्मीले जानकारी दिएका छन् । हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने बताइएको छ । आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको आयोजना कार्यान्वयन उनको भनाइ छ ।