Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तातोपानी नाका : सञ्चालनमा आए पनि व्यवसायीको अर्बौंको सामान महिनौंदेखि अलपत्र

तातोपानी नाका : सञ्चालनमा आए पनि व्यवसायीको अर्बौंको सामान महिनौंदेखि अलपत्र

सिन्धुपाल्चोक, २० कात्तिक । केही दिन अघिदेखि तातोपानी नाका सञ्चालनमा आए पनि सहज बन्न सकेको छैन । चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै मात्रामा सामग्री पठाउँदा नेपाली व्यवसायीको ठूलो परिमाणको सामान आयात हुन सकेको छैन । यो नाकाबाट हाल दैनिक ३–४ कन्टेनर सामग्री मात्रै नेपाल भित्रिरहेका छन्, जसले गर्दा अर्बौंका सामान महिनौंदेखि उतै अलपत्र परेको गुनासो व्यवसायीले गरेका छन् ।
नाका सञ्चालनमा आएयता बुधवारसम्ममा १९ कन्टेनर बराबरको मालवस्तु मात्र नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयको तथ्यांक छ ।
नेपाली व्यवसायीले सामान सहज रूपमा पठाइदिन चिनियाँ अधिकारीहरूलाई पटक पटक आग्रह गर्दै आए पनि सुनुवाइ नभएको हिमालय सीमापार उद्योग वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलको भनाइ छ । व्यवसायीले खरिद गरेका ७५ प्रतिशतभन्दा बढी मालवस्तु चीनमै अलपत्र परेको संघले बताएको छ । व्यवसायीले गतवर्ष जाडोयामका लागि किनेका सामानसमेत अझै आउन नसकेको बताइएको छ ।
अहिले नेपालतर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पु¥याउन आउने गरेको छ । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछि मात्र नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । स्वास्थ्य मापदण्डको नयाँ नीति लागू भएपछि सोही अनुसार सामान आयात भइरहेको जानकारी उनले दिए ।
श्रमिकहरूलाई स्वास्थ्य मापदण्डसहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको र सामान लोड गर्ने नेपाली श्रमिकलाई क्वरेन्टाइनमा राखिएको छ । यस्तै उनीहरूको प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको भन्सार प्रमुख खत्रीले बताए ।
स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणकै रूपमा रहेकाले थोरै मात्रामा मात्रै सामान आयात भइरहेको उनको भनाइ छ । नेपाल भित्रने सामान छिटो र ठूलो परिमाणमा पठाउने व्यवस्था मिलाउन आफूहरूले चिनियाँ पक्षसँग बारम्बार छलफल गरिरहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x