आयातको शीर्षस्थानमा आइरन तथा स्टील, ६ महिनामा साढे ६३ अर्बको आयात
काठमाडौं, १० माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा आयात भएका वस्तुको शीर्षस्थानमा आइरन तथा स्टिल रहेको छ । भन्सार विभागका अनुसार पुस मसान्तसम्ममा ६३ अर्ब ४८ करोड ४ लाख बराबरको आइरन तथा स्टील आयात भएको छ ।
यसैगरी ५३ अर्बको मेशिनरी पार्ट्स आयात भएको छ भने ४३ अर्ब ७१ करोड ८३ लाख रुपैयाँको सवारीसाधन भित्रिएको छ । सो अवधिमा खाद्यान्न ४१ अर्ब ७७ करोड ४७ लाख बराबरको आयात भएको छ । यस्तै, ३२ अर्ब ९३ करोडको पेट्रोलियम पदार्थको आयात भएको छ ।
चालू आवको ६ महिनामा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी आयात भएको छ । सो अवधिमा भारतबाट ४ खर्ब ३८ अर्ब ८२ करोड ९७ लाख रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । यस्तै चीनबाट ९६ अर्ब ३२ करोड ५२ लाख रुपैयाँको वस्तु आयात भएको छ ।
विभागका अनुसार ६ महिना अवधिमा आयात निर्यातबाट १ खर्ब ८७ अर्ब ६ करोड ३९ लाख ५३ हजार रुपैयाँ राजस्व असुली भएको छ ।