सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग
काठमाडौं, १० माघ । सुनचाँदी ब्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरुले कोटा प्रणाली खारेजीका लागि सुनचाँदी ब्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष गोल्छासँगको भेटमा अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा ब्यवसाय सञ्चालनका लागि ब्यवसाय सञ्चालन ल्याउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि आवश्यक नीतिगत ब्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिक केन्द्रहरु सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका बिषयलाई कार्यान्व्यनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए ।
त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी ब्यवसायीका समस्या समाधानकालागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पछिल्लो समय नेपालमा विभिन्न बाणिज्य बैंकहरु मार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही सयम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनवाट देखिएको छ ।