सकियो पहिलो चरणको खोप अभियान, दोस्रो चरणको तयारी अघि बढाइँदै
काठमाडौं, २५ माघ । कोभिड–१९ विरुद्धको खोपको पहिलो चरणको अभियान सम्पन्न भएको छ । अघिल्ल्लो बुधवारदेखि सातवटै प्रदेशका अस्पताल तथा खोप केन्द्रबाट खोप लगाउन शुरू गरिएको थियो । दुई साताअघि भारतले सहयोग स्वरूप दिएको ‘कोभिशिल्ड’ खोप देशभरका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप दिइएको हो ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख डोज खोप भारत सरकारले दुई साताअघि अनुदानमा दिएको थियो ।
पहिलो चरण अन्तर्गत शुक्रवारसम्ममा सरकारले ४ लाख ३० हजारलाई कोभिड विरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । तर लक्ष्य अनुसार खोप लगाउने संख्या नपुगेपछि एक दिन थपेर शनिवारसम्म कायम गरेको थियो । शनिवार साँझसम्ममा देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।
पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले दोस्रो चरणको तयारी पनि अघि बढाउने भएको छ । आगामी फागुन १४ गतेदेखि खोपको पहिलो डोज दिएकालाई दोस्रो चरणको खोप लगाउने तयारी मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार दोस्रो चरणमा ‘फ्रन्टलाइनर’ बाहेक अन्यलाई पनि खोप लगाइनेछ । यसका लागि चीनले अनुदानमा दिने ५ लाख खोप ल्याउने तयारी गरिएको छ । पहिलो चरणमा निर्धारित लक्ष्यभन्दा आधाले मात्र खोप लगाएपछि दोस्रो चरणमा खोप लगाउनेको जनसहभागिता बढाउने तयारी सरकारको छ, जसका लागि प्रचार प्रसार बढाउने, खोपबारे मानिसमा रहेको भ्रम तथा अन्योल निराकरण गर्ने र खोप केन्द्रहरू बढाउने रणनीति रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
दोस्रो चरणमा जोखिमका आधारमा विभिन्न पेशामा आबद्धहरूलाई खोप लगाइनेछ । प्रवक्ता गौतमका अनुसार मन्त्रालयले दोस्रो चरणको खोप लगाउनेहरूको प्रारम्भिक सूची पनि तयार पारिसकिएको छ । सूचीमा सुरक्षाकर्मी, यातायातको क्षेत्रमा कार्यरत व्यक्ति, हवाई क्षेत्रमा काम गर्नेहरू, विद्युत्, नापी, मालपोत, बैंक तथा वित्तिय संस्थाहरू र सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति छन् ।