आन्तरिक पर्यटकले उकासिँदै पोखराको पर्यटन क्षेत्र

पोखरा, १४ फागुन । पोखरामा आन्तरिक पर्यटक आगमन बढेको छ । कोभिड महामारीका कारण लामो समय ठप्प पोखराको पर्यटन क्षेत्र आन्तरिक पर्यटक आगमन बढेसँगै उकासिन थालेको छ ।

पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीय स्थलमा पनि पर्यटक बढेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिडका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भएपछि घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरू भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरू पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् । दशैंपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखेरललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । केही तेस्रो मुलक तथा छिमेकी भारतका पर्यटकसमेत अहिले पोखरामा छन् ।

विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् ।
पोखरासँगै आपसपासका काहुँडाडाँ, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *