बजार घटेपछि अर्थमन्त्री गुहारे लगानीकर्ताले
काठमाडौं, २९ फागुन । नेपाल इन्भेष्टर्स फोरमले लगानीकर्ताको भविष्य जोडिएको पुँजी बजार सुधारका लागि तत्काल कदम चाल्न अर्थमन्त्रीसमक्ष आग्रह गरेको हो । निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ताको अरबौं रुपैयाँ आर्थिक क्षति हुनुका साथै त्यो भन्दा अझ बढी मनोवैज्ञानिक त्रास र नोक्सान बढेको फोरमले जनाएको छ ।
आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्दै गर्दा अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार निरन्तर रुपमा घटिरहनु र सम्बन्धित निकायहरु प्रतिकृयाविमुख रहनुले १५ लाखभन्दा बढि लगानीकर्ताहरुको भावनामा गम्भीर चोट पुगेको फोरमले अर्थमन्त्री समक्ष राखेको मागपत्रमा उल्लेख छ।
विगतमा लगानीका अन्य क्षेत्रहरु सुसुप्त रहेको अवस्थामा बिद्यार्थीदेखि शिक्षक प्राध्यापकसम्म, निजामति कर्मचारीदेखि सेना तथा प्रहरीसम्म यही पेसामा आश्रित रहेका थिए । यसैगरी, गृहिणीदेखि सेवा निवृत्त ब्यक्तिहरु तथा ठूला ब्याबसायिक घराना देखि साना ब्यबसायीहरुले पनि आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको विगत ५ बर्षको तथ्थांकबाट प्रष्ट देख्न सकिने मागपत्रमा उल्लेख गरिएको छ ।
यतिबेला निरन्तर रुपमा घटिरहेको बजार घटिरहँदा पनि यसका निराकरणका लागि सम्बन्धित क्षेत्र मौन रहनुले पुँजी बजार मार्फत ब्याबसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौ लगानीकर्ताहरु निरुत्साहित भएको फोरमको विज्ञप्तिमा उल्लेख छ ।



