सुनचाँदी क्षेत्रको एजेण्डालाई राष्ट्रिय नीतिमै समावेश गरिने

काठमाडौं, १९ चैत । सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि यो क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेश गरिने भएको छ । सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं खानी उत्खनन जस्ता महत्वपूर्ण बिषयहरुलाई मुलुकको आवधिक योजनामा नै पारिने भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डल सँगको भेटकाक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सुनचाँदी क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै यसैको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने गरी नीतिगत ब्यवस्था गर्न आफू तयार रहेको बताए । उनले यस क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत ब्यवस्थामा समेट्नुपर्ने एजेण्डाहरुलाई लिपिवद्ध गर्न ब्यवसायीहरु लाई आग्रह समेत गरे ।
त्यस्तै महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट नीतिको अभावमा सुनचाँली ब्यवसायमा धेरै समस्या आएको बताए । सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट नीतिगत ब्यवस्था गर्दै कच्चा पदार्थको पर्याप्त आपूर्ति एवं कालिगढको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिन सकीय यस क्षेत्रवाट राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।