बैंक तथा वित्तीय संस्थामा ३ करोडभन्दा बढी निक्षेप खाता
काठमाडौं, २४ चैत । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा बैंकमा निक्षेप खाता खोल्नेको करीब ३ करोड नाघेको छ । सो अवधिमा सो कुल निक्षेप खाताको संख्या ३ करोड ३ लाख ५४ हजार ८२८ पुगेको हो ।
केन्द्रीय बैंकका अनुसार त्यसमध्ये २ करोड ३९ लाख २ हजार खाता सक्रिय रहेका छन् । यसमा पुरुषको सक्रिय खाता १ करोड ४५ लाख ३२ हजार ५०२ र महिलाको सक्रिय खाताको संख्या ९३ लाख ७० हजार ३९६ रहेको छ । सो अवधिमा नियमित सञ्चालन तथा कारोबार नगर्ने निष्क्रिय खाताको संख्या भने ६४ लाख ५१ हजार पुगेको छ । एउटै व्यक्तिले दुईभन्दा बढी खाता खोलेर एउटामा मात्र नियमित कारोबार गर्ने प्रवृत्तिले निष्क्रिय खाताको संख्या बढी देखिएको बैंकहरूको भनाइ छ ।
बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरूको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था छ ।