पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधार र बजेट व्यवस्थापनमा जोड
काठमाडौं, ३१ चैत । कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । पर्यटन बोर्डमा आयोजित ‘आजको पर्यटन चुनौती र अवसर ’ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लािग बजेट ब्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए ।
उनले पहिले जस्तो अवस्था नभए पनि कोभिडले पर्यटन क्षेत्रलाई बढी प्रभावित गरेकोले यसको पुनरुत्थनाका लागि आपूmले पहल गरेको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रैकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइएपनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताए । उनले यो समयमा पूर्वाधार विकाससँगै मानव संसाधन विकासमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालले अहिलेको परिस्थती पहिलेभन्दा फरक रहेपनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाढि बढाउनुपर्ने अवस्था रहेको बताए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यक्ता भएको बताए । नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार देखि पर्यटन मैत्री नीति आवश्यक भएको उनको भनाइ छ । नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जानकारी दिँदै उनले त्यसको लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताए ।
बोर्डका सञ्चालक समिति सदस्य कल्पना धमलाले कोभिडको कारण सिर्जित समस्याको कारण बोर्डमा बजेट अभाव रहेकोले आउने वर्षका लागि सरकारले बोर्डलाई अनुदान वा ऋण सहयोग गर्न आग्रह गरिन् । यस्तै बोर्डका निवर्तमान कार्यकारी प्रमुख दिपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनुपर्ने उल्लेख गर्दै भिसा फ्रिको अवधारणा पनि आवश्यक रहेको बताए ।