क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार बढ्दो
काठमाडौं, २ वैशाख । मुलुकमा पछिल्लो समय क्यूआर कोडमार्फत हुने भुक्तानी कारोबार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत माघमा क्यूआर कोडमार्फत रू. एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा रू. दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको छ ।
यसैगरी गत माघ महीनामा यसमार्फत पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा ६ लाख ३५ हजार ७३८ पटक कारोबार भएको छ ।
पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुँदै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करीब डेढ खर्बभन्दा बढीको कारोबार भएको छ । गत माघमा रू. एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो ।
यस्तै फागुनमा इन्टरनेट बैंकिङमार्फत रू. आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ भने वालेटमार्फत रू. १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । यसैगरी अनलाइन (इ–कमर्श)बाट फागुनमा रू. ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।