शहरी पुनरुत्थानको कार्ययोजनामा पुनर्निर्माण प्राधिकरण
काठमाडौं, १३ वैशाख । शहरी क्षेत्रमा घरको मात्र पुनःनिर्माण गरेर नहुने भएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शहरकै पुनर्निर्माण गर्नुपर्ने निष्कर्षमा पुगेको छ । गोरखा भूकम्पको छैटौं स्मृति दिवसका अवसरमा प्राधिकरणले आज यहाँ आयोजना गरेको भूकम्पपछिको पुनः निर्माणबाट उत्थानशील समाज निर्माणमा पुगेको योगदान र भावी कार्यदिशा विषयक अन्तरक्रियामा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौँ उपत्यकाका सम्पदा संरक्षणलाई समेत जोडेर शहरी पुनरुत्थान कार्ययोजना शुरु गर्न लागिएको जानकारी दिए ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले शहरी पुनरुत्थान कार्यक्रम लागू गरी राजधानीका नगरपालिकालाई नमूनाका रुपमा स्थापित गर्ने निर्णय गरेको जानकारी उनले दिए । राजधानीलगायत शहरी क्षेत्रमा एउटासँग अर्को घर जोडिएको हुने र एउटा घर भत्काउँदा अरूलाई पनि असर पर्ने भएकाले पनि धेरै घर पुनःनिर्माण हुन नसकेको पाइएकाले यस्तो कार्यक्रम अघि सारिएको प्राधिकरणले जनाएको छ ।
भूकम्प र ढुंगामाटाको घरका विषयमा अध्ययन केन्द्र नै स्थापना गरेर अनुसन्धानका कामलाई अघि बढाउनुपर्ने निष्कर्षमा पनि प्राधिकरण पुगेको उनको भनाइ थियो । प्राधिकरणका सचिव मणिराम गेलालले नेपालको पुनःनिर्माणको अनुभवलाई हेरेर आगामी दिनमा विश्वका अन्य स्थानमा हुने भूकम्प पछिको पुनर्निर्माण अघि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्यद्वय ध्रुवप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गोविन्द नेपाल, पूर्वसचिव किशोर थापा, विश्व बैंकका काम्रान अकबर, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधान, प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे लगायतले पुनः निर्माणका क्रममा उल्लेखनीय काम भएको, भूकम्प पछिको पुनः निर्माणसम्बन्धी ऐनमा व्यवस्था गरिएका कतिपय प्रावधान कार्यान्वयन नहुँदा जति छिटो राम्रो पुनः निर्माण हुनुपर्ने थियो त्यो हुन नसकेको बताए ।