सरकारको आन्तरिक ऋण दायित्व ७ खर्ब नजिक
काठमाडौं, २६ वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा सरकारको आन्तरिक ऋणको दायित्व करिब ७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चैत मसान्तसम्म सरकारको कुल आन्तरिक ऋण दायित्व ६ खर्ब ९७ अर्ब ४२ करोड १२ लाख पुगेको छ ।
उक्त परिमाणमा रहेको आन्तरिक ऋणमध्ये विकास ऋणपत्रमा सबैभन्दा धेरै ४ खर्ब ७३ अर्ब ९४ करोड ७० लाख रहेको छ । यस्तै ट्रेजरी बिलमा २ खर्ब १८ अर्ब ४९ करोड ४१ लाख, नागरिक बचतपत्रमा ४ अर्ब ६४ करोड २० लाख र वैदेशिक रोजगार बचतपत्रमा ३३ करोड ८२ लाख रहेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा सरकारले २ खर्ब २५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा २०७७ चैत मसान्तसम्ममा ट्रेजरी बिलबाट २० अर्ब ५० करोड, विकास ऋणपत्रबाट ९० अर्ब, नागरिक बचतपत्रबाट २ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट १ करोड ५३ लाख गरी जम्मा ११२ अर्ब ५१ करोड ५३ लाख आन्तरिक ऋण परिचालन गरेको छ । सोही अवधिमा १७ अर्ब २२ करोड ४१ लाख बराबरको ट्रेजरी बिल, ६ अर्ब बराबरको विकास ऋणपत्र, ५ अर्ब बराबरको नागरिक बचतपत्र तथा ८ करोड २१ लाख बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल २८ अर्ब ३० करोड ६२ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण चुक्ता गरिएको छ ।