कोरोना संक्रमित र मृत्युदरको ग्राफ हालसम्मकै उच्च, निको हुने दर ७६ प्रतिशत
काठमाडौं, २८ वैशाख । नेपालमा कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहर शुरू भएयता संक्रमण र मृत्युदर हालसम्मकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवारको तथ्यांकले कोभिडबाट संक्रमित र मृत्यु हुनेको संख्याले यसअघिका सबै रेकर्ड ‘ब्रेक’ गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित १३९ जनाले ज्यान गुमाएका छन् । यसअघि वैशाख २४ गते सबैभन्दा धेरै ९ हजार १९६ जनामा संक्रमण देखिएको थियो । यस्तै आइतवार ८८ जना संक्रमितको मृत्यु भएको थियो ।
हालसम्म नेपालमा कुल ४ लाख ३ हजार ७९४ जनामा कोभिड संक्रमण देखिएको छ भने यसबाट निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ रहेको छ । कुल संक्रमितमध्ये महिलाको संख्या १ लाख ४९ हजार ८२० र पुरुषको संख्या २ लाख ५३ हजार ९७४ रहेको छ । यस्तै हालसम्म ३ हजार ८५९ जनाको मृत्यु भएको छ भने यसबाट निको हुने दर ७६ प्रतिशत रहेको छ ।