शेयर कारोबार रकममा आजपनि नयाँ रेकर्ड, करिब १२ अर्बको शेयर कारोबार
काठमाडौं, ५ जेठ । बुधबार नेप्से परिसूचक १३.०९ अंकले घटेर बन्द भएको छ । बजार घटेपनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम राखेको छ । हिजो ११ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएकोमा आज झण्डै १२ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । आज ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसअघि जेठ २ गते आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो भने माघ २६ गते १० अर्ब १७ करोड र फागुन ४ गते १० अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज २१४ कम्पनीको २ करोड ५१ लाख २१ हजार कित्ताभन्दा बढी शेयर खरिद विक्री भएको छ ।
आज सर्वाधिक मूल्यको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नै भएको छ । हिजो पनि पुनर्बीमा कम्पनीकै सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको थियो । आज यो कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।
हिजोको तुलनामा बजार ०.४७ प्रतिशतले घटर २७८०.८१ विन्दुमा रोकिएको छ ।