Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोभिड प्रतिकार्यका लागि स्वास्थ्यक्षेत्रमा ४ अर्ब ५७ करोड निकासा

कोभिड प्रतिकार्यका लागि स्वास्थ्यक्षेत्रमा ४ अर्ब ५७ करोड निकासा

काठमाडौं, १२ जेठ । अर्थ मन्त्रालयले कोरोना प्रतिकार्यका लागि स्वास्थ्यक्षेत्रमा साढे ४ अर्बभन्दा बढी स्रोत जुटाइदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग तथा सिफारिसका आधारमा स्वास्थ्य सामग्री खरिद, अस्पतालको क्षमता अभिवृद्धि लगायत प्रयोजनका लागि मन्त्रालयले पछिल्लो डेढ हप्तामा कुल ४ अर्ब ५७ करोड ७२ लाख रुपैयाँको सहमति दिएको हो ।

मन्त्रालयले जेठ २ मा कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ स्रोत जुटाइदिएको थियो, जसबाट २६ ओटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक खरिदका लागि २ अर्ब ९५ करोड २० लाख र केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको थियो ।

यसैगरी जेठ ६ मा देशभरिका १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि मन्त्रालयले १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासाको सहमति दिएको थियो ।

यस्तै गत सोमवार मात्रै मन्त्रालयले कोभिड रोकथामका लागि अस्पतालहरूलाई थप ८ करोडभन्दा बढीको स्रोत स्वीकृत गरेको छ । अक्सिजन प्लान्ट, एचडीयू जडान र पीसीआर मेशिन खरीदका लागि मन्त्रालयले १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो ।

कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरूप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x