कोभिडकै बीच अधिकांश आर्थिक परिसूचक सकारात्मक

काठमाडौं, १५ जेठ । कोभिड महामारीको समयमा समेत चालू आर्थिक वर्षमा अधिकांश प्रमुख आर्थिक परिसूचकहरू सकारात्मक रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०७७–७८ को तथ्यांकले यस्तो देखाएको हो । सर्वेक्षणका अनुसार तुलनात्मक रूपमा यातायात, पर्यटन, होटेल तथा रेष्टुरेण्ट, थोक तथा खुद्रा व्यापारलगायत सेवा क्षेत्रमा भने कोभिड–१९ को बढी असर परेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालू आवमा कुल गार्हस्थ्य उत्पादन (आधारभूत मूल्यमा)को वृद्धिदरमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २०.२ प्रतिशत, १९.६ प्रतिशत र ६०.२ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान ३०.७ प्रतिशत रहेको थियो भने उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २७.४ प्रतिशत र १०३.२ प्रतिशतले ऋणात्मक थियो ।
गत आवमा कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचतको अनुपात ६.३ प्रतिशत रहेकोमा चालू आवमा यस्तो अनुपातमा सिमान्त रूपमा वृद्धि भई ६.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यस्तै चालू आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ७.५ प्रतिशतले बढेर रू. १ लाख ४० हजार ८ सय १९ (अमेरिकी डलर १,१९१) रहने अनुमान छ । गत आवमा यस्तो आय रू. १ लाख ३० हजार ९ सय ५७ (अमेरिकी डलर १,१२६) रहेको थियो । पछिल्लो दश वर्षको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको औसत वृद्धि ९.२ प्रतिशत रहेको छ ।
सवेक्षणका अनुसार चालू आवमा प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्र (तृतीय क्षेत्र) को वृद्धिदर क्रमशः २.७५ प्रतिशत, ४.९३ प्रतिशत र ४.४३ प्रतिशत रहने अनुमान छ । गत आवमा प्राथमिक क्षेत्र २.१३ प्रतिशतले बढेको थियो भने द्वितीयक र सेवा क्षेत्र क्रमशः ३.७६ प्रतिशत र ३.९७ प्रतिशतले संकुचन भएका थिए । पछिल्लो एक दशकमा प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र र सेवा क्षेत्रको औसत वृद्धिदर क्रमशः ३.०७ प्रतिशत, ४.९५ प्रतिशत र ४.६३ प्रतिशत रहेको छ ।