Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

खानेतेलको मूल्य हालसम्मकै उच्च, बाह्य कारणले मूल्यवृद्धि भएको दाबी

खानेतेलको मूल्य हालसम्मकै उच्च, बाह्य कारणले मूल्यवृद्धि भएको दाबी

काठमाडौं, १८ जेठ । पछिल्लो समय तोरीको खाने तेलको मूल्य हालसम्मकै उच्च रूपमा बढेको छ । गतवर्षको तुलनामा यस वर्ष लिटरमै रू. ५० भन्दा बढी मूल्य बढेको छ ।

अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघलाई निर्देशन दिएको थियो ।

विभागको निर्देशनपछि खाने तेल उत्पादकहरूको छाता संगठनको रूपमा रहेको संघले उद्योगीले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । संघले विज्ञप्ती जारी गर्दै व्यवसायीले मूल्यवृद्धि नगरेको भन्दै अन्तरराष्ट्रिय रूपमै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा बढेको दाबी गरेको छ ।

‘उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाबिन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी मुख्य कच्चापदार्थ अन्तरराष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरूप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ । १६ महिनायता तेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’

सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाबिनको तेलको मूल्य एक वर्षको अवधिमा एक हजार २७९ डलर पुगेको छ । यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार ५८० भएको छ । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको संघले दाबी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x