पूँजीबजार विस्तारका लागि सरकार सकारात्मक छ : अर्थमन्त्री पौडेल
काठमाडौं, २५ जेठ । उपप्रधान एवम अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजीबजार विस्तारको लागि ठोस योजना बनाएको बताएका छन् । धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा मंगलवार वेबीनार मार्फत आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकार पूँजीबजारको विकासमा सकारात्मक रहेको बताएका हुन् ।
नेपालको पूँजीबजारलाई विश्वसनीय बनाउन र उपलब्धि मूलक कार्य गर्न सरकार तत्पर रहेको भन्दै उनले पूँजीबजारको विकासको लागि कार्ययोजना तयार पार्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिए । सरकारले वस्तु विनियम बजार सुधार तथा विस्तारका लागि बजेट विनियोजन गरेको भन्दै उनले यसमा आवश्यक कार्य गर्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिए । नेपालको पूँजीबजारको नियमन तथा दायरा विस्तार गर्न धितोपत्र बोर्डले थप कार्य गर्न आवश्यक रहेको मन्त्री पौडेलले बताए ।