रामानन्द अनुसन्धान केन्द्रको शुभारम्भ

असार ९, देवघाटधाम । महेश–संस्कृत–गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरिको नाममा रामानन्द अनुसन्धान केन्द्रको शुभारम्भ भएको छ । गंगादशहराको सु–अवसरमा असार ६ गते स्वामी सच्चानन्द पुरिबाट तनहुँको देवघाटधामस्थित महेश संन्यास आश्रम परिसरमा उक्त केन्द्र स्थापनाको शुभारम्भ भएको हो ।

शुभारम्भ कार्यक्रममा महेश–संस्कृत–गुरुकुलका संरक्षक स्वामी मधुसूदनानन्द गिरि, पीठाधीश स्वामी रमणानन्द गिरि, विद्यापीठका प्राचार्य डा. गुरुप्रसाद सुवेदी, गुरुकुलका प्रधानाध्यापक फणीन्द्रप्रसाद पौडेल लगायत गुरुकुलका अभिभावक, छात्र एवम् साधुसन्तहरूको उपस्थिति थियो । कार्यक्रममा जुम प्रविधिमार्फत देश विदेशमा रहेका विशिष्ट विद्वान् तथा आश्रमका शुभेच्छुक, सहयोगीहरूको समेत उपस्थिति थियो ।

सनातन ज्ञान–विज्ञान र नेपालको मौलिक इतिहास, परम्परा एवं नेपाली संस्कृतिको अध्ययन, अनुसन्धानका लागि विश्वमै पहिलो पटक आध्यात्मिक अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको कार्यक्रमका वक्ताहरूले बताएका थिए । अनुसन्धान केन्द्रले नेपालका सबै जातजाति, भाषा, संस्कार, संस्कृतिको सनातन स्रोत खोज्दै मौलिक नेपाली पहिचानको अन्वेषण गर्ने विज्ञहरूले बताएका थिए । नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँको देवघाटधाममा स्थापना हुन लागेको अनुसन्धान केन्द्रको प्रारम्भिक लागत ५० करोड रहेको पनि आयोजकहरूले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *