११६ स्थानीय निकायमा बैंकको नाम नै तोकेर शाखा खोल्न निर्देशन
काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले ११६ स्थानीय निकायमा वाणिज्य बैंकहरुको नामै तोकेर शाखा विस्तार गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले स्थानीय निकायमा बैंकहरुको उपस्थिति विश्लेषण गरी सोही आधारमा कुन बैंकले कहाँ शाखा खोल्ने भन्ने निक्र्यौल गरिदिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।
केन्द्रीय बैंकले जारी गरेको परिपत्रमा २४३ स्थानीय निकायमा वाणिज्य बैंकहरुले शाखा खोल्न प्रतिवद्धता गरिसकेकाले वैशाखसम्म शाखा खोलीसक्न निर्देश गरेको छ भने ११६ स्थानीय निकायमा निर्देशन बमोजिम असार मसान्तसम्म शाखा खोलिसक्नुपर्नेछ । अहिले ३९४ स्थानीय निकायमा मात्र वाणिज्य बैंकका शाखाहरु रहेका छन् । राष्ट्र बैंकले बैंकहरुलाई शाखा विस्तारका लागि भैरहेको प्रगतिका सम्बन्धमा हरेक १५ दिनमा रिपोर्टीङ गर्नुपर्ने प्रबन्ध गरेको छ । बैंकहरुले अत्यावश्यक पूर्वाधारको अभाव देखाइ स्थानीय निकायमा शाखा खोल्न आनाकानी गरिरहेको सन्दर्भमा केन्द्रीय बैंकले अर्थमन्त्रालये आवश्यक सुरक्षा तथा अन्य आवश्यक पूर्वाधार पक्की घर, इन्टरनेट, बाटो लगायतको प्रबन्ध गर्न सहजीकरण गर्ने बताएको छ । तोकिएको समयमा बैंकहरुले शाखा विस्तार नगरे राष्ट्र बैंक ऐन, २०५८ अनुसार कारबाही गरिने प्रवक्ता पौडेलले बताए ।