२ खर्ब २४ अर्ब आन्तरिक ऋण परिचालन, जीडीपीको ४०.५ प्रतिशत पुग्यो सरकारी ऋण
काठमाडौं, १३ भदौ । गत आर्थिक वर्ष २०७७÷७८ मा सरकारले रू. २ खर्ब २४ अर्ब १ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रू. ३६ अर्ब ९० करोड साँवा भुक्तानी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी गत आवको तथ्यांकमा आधारित प्रतिवेदनका अनुसार उक्त अवधिमा सरकारले रू. १ खर्ब ८७ अर्ब ११ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ, जुन रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४.४ प्रतिशत हुन आउँछ ।
गत आवमा सरकारले रू. १ खर्ब २७ अर्ब १८ करोड बाह्य ऋण परिचालन गरेको छ । २०७८ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण रू. ९ खर्ब २७ अर्ब ९३ करोड र आन्तरिक ऋण रू. ८ खर्ब ३२ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १७ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । गत आवमा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४०.५ प्रतिशत पुगेको छ, अघिल्लो आवमा यस्तो अनुपात ३६.५ प्रतिशत रहेको थियो ।